आज जैविक विविधता दिवस मनाइँदै
काठमाडौं । ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागिएको छ । कृषि विभागले यही माघ पहिलो साताभर विविध कार्यक्रम आयोजना गरी तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको हो ।
२०७९ भदौ २७ गते मन्त्रिपरिषद्बाट प्रत्येक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा मनाउने निर्णयबमोजिम यो वर्ष पनि कृषि विभागले विविध कार्यक्रम गरी दिवस मनाउन लागेको हो ।
माघको पहिलो साताभर मनाइने उक्त दिवसले नेपालमा परम्परागत रूपमा रहेका अनेकौँ जातजाति, धार्मिक एवं संस्कृतिक परम्परासँग सम्बन्धित कृषि र खानाका परकार तथा सम्बद्ध सीपको जगेर्ना गर्न मद्दत पुर्याउनुका साथै स्थानीय कृषि आनुवंशिक स्रोतहरूको संरक्षण एवं दिगो उपयोग, वातावरण संरक्षणमा टेवा पुर्याउने अपेक्षा गरिएको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले बताए ।
कृषि जैविक विविधताको महत्वसहित यसको संरक्षणबारे जनचेतनामूलक कार्यक्रमको आयोजना गरिनुका साथै प्रादेशिक निकाय, स्थानीय तहलगायत सरकारी तथा गैरसरकारी संस्थालाई कार्यक्रम सञ्चालन गरी दिवस मनाउन पत्राचार गरिएको उनले जानकारी दिए ।
यसको महत्वबारे सर्वसाधारणमा जनचेतना जगाई दिगो संरक्षण तथा उपयोगमा टेवा पु¥याउने, तीनै तहका सरकारको विकास, नीति एवं कार्यक्रममा कृषि जैविक विविधतालाई मूल प्रवाहीकरण गर्ने, दिगो रूपमा कृषि जैविक विविधता संरक्षण र उपयोगका लागि उपयुक्त विधि एवं पद्धतिहरूको विकास, अवलम्बन प्रक्रियालगायत उद्देश्यसहित दिवस मनाइने विभागका महानिर्देशक सञ्जेलले उल्लेख गरे ।
जैविक विविधतामा आधारित रहेर कृषि आनुवंशिक स्रोतहरू, कृषिबाली एवं सम्बन्धित जङ्गली प्रजाति, घाँसेबाली, पशुपन्छी, मत्स्य एवं जलीय आनुवंशिक स्रोत, कृषि महत्वका कीरा र कृषि महत्वका सुक्ष्म जीव र कृषकका परम्परागत ज्ञानको संरक्षणमार्फत स्वस्थ जीवनयापनका लागि उपयुक्त पर्यावरण बनाउन सचेतना अभिवृद्धिसहित सप्ताहव्यापी रूपमा विविध कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।
दिवस मनाउन सातै प्रदेश मातहतका निकाय र सबै स्थानीय तहका कृषक समूहलगायत सरोकार भएका निकायलाई कृषि विभागले आह्वान गरेको छ ।
प्रतिक्रिया