टीकापुर जग्गा प्रकरणमा ११ जना दोषी, अरुलाई सफाइ
धनगढी । विशेष अदालतले टीकापुर जग्गा अनियमितता प्रकरणमा ११ जनालाई दोषी ठहर गरेको छ ।
टीकापुर नगर विकास समितिका अध्यक्ष नेत्रप्रसाद जोशी, उपसमिति संयोजक गणेशसिंह रावललगायत सदस्यहरू श्याम खत्री, बमबहादुर बम, देवेन्द्रबहादुर कुँवर, पदमराज न्यौपाने, खडगबहादुर शाह, अम्बादत्ता जोशी, योजना प्रमुख बलबहादुर कडायत, नापी अधिकृत मानबहादुर चन्द र मालपोत अधिकृत जयबहादुर विष्टलाई दोषी ठरह गरेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरूलाई डेढ महिना कैद र १३ लाख ७ जार रुपैयाँका दरले जरिवाना भएको छ । अरु सबै आरोपितहरूले सफाइ पाएका छन् ।
टीकापुरको सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्तिका नाममा दर्ता गराएहरूको जग्गा जफत हुने आदेश भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघमा कैलालीको टीकापुर नगर विकास समितिको जग्गा अनियमित ढंगले व्यक्तिलाई बाँडेको आरोपमा दुई सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
नक्कली रसिद बनाई गलत ढंगले सार्वजनिक जग्गा व्यक्तिको नामा दर्ता गरेको आरोपमा अख्तियार समितिका अध्यक्षहरू, पदाधिकारीहरू, कर्मचारीहरू र जग्गा पाउने व्यक्तिहरूविरुद्ध मुद्दा चलेको थियो ।
भ्रष्टाचार मुद्दा दायर भएकामध्ये १४ जना टीकापुर विकास समिति र त्यसको जग्गा वितरण गर्ने कामसँग सम्बन्धित पदाधिकारी र एक सय १० जना जग्गाधनी हुन् ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया