घोडाघोडी सिमसार क्षेत्रमा जलपंक्षी गणना
घोडाघोडी । विश्व सिमसार क्षेत्र तथा पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा यस वर्ष हिउँदे जलपंक्षी गणना गरिएको छ । नेपाल पंक्षीविद् सङ्घको अगुवाइमा कोशीदेखि कञ्चनपुरसम्म स्थानीय संयोजक तोकेर जलपंक्षी गणना गरिएको हो ।
सोही अनुरुप घोडाघोडी सिमसार क्षेत्रमा चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले गणना कार्यको संयोजन गर्नुभएको जनाइएको छ । मङ्गलबारदेखि गणना सुरु भएको थियो । सिमसार क्षेत्र घोडाघोडी ताल, नगकरोड ताललगायत वरपरका तालतलैयामा तीनदिनसम्म जलपंक्षी गणना गरिएको जनाउँदै नेटवर्कका अध्यक्ष चौधरीले एकहजार १२३ संख्यामा जलपंक्षीको गणना भएको जनाकारी दिनुभयो । उहाँले गणना समेटिएका चराहरुमध्ये २६ प्रजातिका जलपंक्षी रहेकोसमेत उल्लेख गर्नुभयो ।
चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरी पहिलो दिन घोडाघोडी ताललाई तीन भागमा छुट्याएर तीन समूहले जलपंक्षी गणना गर्ने कार्य गरेको जानकारी दिनुभयो । साथै उहाँले दोस्रो र तेस्रो दिन घोडाघोडी सिमसार क्षेत्रकै अन्य तालतलैयामा जलपंक्षी गणना कार्य सकेको बताउनुभयो । घोडाघोडी सिमसार क्षेत्रमा घोडाघोडीताल लगायत २४ वटा तालतलैया छन् ।
नेटवर्कका अध्यक्ष एवं गणना संयोजक चौधरीले भन्नुभयो, “सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरुको विवरण, अवस्था पत्ता लगाउन, सङ्ख्या अद्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई चेतना अभिवृद्धि गरी संरक्षणमा हातेमालो गर्न हरेक वर्ष सिमसार क्षेत्रको जलपंक्षी गणना गरी सिमसार क्षेत्रमा चराको सङ्ख्याको हरेक वर्ष एकीकृत प्रतिवेदन तयार गरिन्छ ।”
घोडाघोडीमा ३८२ प्रजातिका चरा रहेको र त्यसमध्ये ७४ प्रजातीका जलपंक्षी रहेको तथ्याङ्कमा उल्लेख छ । जाडो र गर्मी समयमा घोडाघोडीमा चरा गणना हुने गर्दछ । गत वर्ष घोडाघोडी क्षेत्रमा एकहजार २३१ जलपंक्षी गणना हुँदा दुई नयाँ प्रजातिका चरा भेटिएको रेकर्डमा उल्लेख छ ।
जलपंक्षी गणना संयोजक चौधरीले नेटवर्कका पदाधिकारी सदस्य, विभिन्न सामुदायिक वनका सदस्य, चोरी सिकारी नियन्त्रण दलका सदस्यलगायत संरक्षणकर्मी जलपंक्षी गणनामा सहभागिता रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया