दोधारा–चाँदनी सुख्खा बन्दरगाहका रुख काट्ने सम्झौता

  बिहिबार २५, पुष २०८१ १०:५३

कञ्चनपुर । दोधारा–चाँदनी सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी निर्माणका लागि आवश्यक रुख काट्ने सम्झौता गरिएको छ । बुधवार सुख्खा बन्दरगाह निर्माण हुने क्षेत्रमा रुख काट्नको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबिच द्विपक्षीय सम्झौता भएको हो ।

सम्झौता पत्रमा विभागको तर्फबाट महानिर्देशक डा.रामचन्द्र कँडेल र इन्टरमोडलको तर्फबाट कार्यकारी निर्देशक आशिष् गजुरेलले हस्ताक्षर गरेका छन् । सुख्खा बन्दरगाहका लागि वन क्षेत्रको ४२.३६ हेक्टर जग्गामा भएका १ हजार ७०२ वटा रुख र पोलहरू काट्ने सम्झौता गरिएको छ ।

सुख्खा बन्दरगाह र एकीकृत जाँच चौकी दोधारा– चाँदनी नगरपालिका अन्तर्गत वडा नम्बर १ मा निर्माण हुने भएको छ । उक्त क्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ ।

काटिएको रुख र पोल व्यवस्थापन भइसकेपछि उक्त क्षेत्रफल बन्दरगाह र एकीकृत जाँच चौकीको भौतिक पूर्वाधार निर्माणको लागि भारत सरकारलाई उपलब्ध गराइने समितिका कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए ।

यो आयोजनाको लागत खर्च ५ अर्ब ७६ करोड नेपाली रुपैयाँ प्रस्ताव गरिएको छ । निर्माण सुरु भएको ३ वर्ष भित्रमा निर्माण सम्पन्न गर्नुपर्ने आयोजनाको गुरुयोजना प्रतिवेदनमा उल्लेख छ ।

clock बिहिबार २५, पुष २०८१ १०:५३

प्रतिक्रिया