टीकापुर जग्गा प्रकरणमा बहस सकियो, भोलि फैसला

  बुधबार २४, पुष २०८१ १७:३७

धनगढी । टीकापुर जग्गा प्रकरणको मुद्दामा बहस सकिएको छ । दुई सय ४९ जना प्रतिवादी रहेको उक्त मुद्दामा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यद्वय न्यायाधीश तेजनारायणसिंह राई र न्यायाधीश रितेन्द्र थापाको इजलासमा बहस भएको हो ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले आज बहस सकिएको बताउँदै भोलि फैसला आउने जानकारी दिए । ‘बहस सकिएर भोलिका लागि हेर्दाहेर्दैमा राखिएको छ,’ रेग्मीले भने, ‘भोलि नै फैसला आउँछ होला ।’

टीकापुर बजार क्षेत्रको सरकारी जग्गा नक्कली कागज बनाएर व्यक्तिको नाममा ल्याएको आरोप छ । अख्तियारले २०६५ सालपछि नगर विकास समितिमा नियुक्त भएका पदाधिकारी, कर्मचारी, पार्टी प्रतिनिधि र पहुँचवालाहरू संलग्नताका विषयमा छानबिन गरेको छ । छानबिनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सय ४९ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । 

भ्रष्टाचार मुद्दा लाग्नेमध्ये १४ जना टीकापुर नगर विकास समिति र त्यसको जग्गा वितरण गर्ने कामसँग सम्बन्धित पदाधिकारी हुन् भने एक सय १० जना जग्गाधनी हुन् । जग्गा लिएकामध्ये सात जनाको निधन भइसकेको छ ।

अख्तियारले छ बिघा १९ कट्ठा १० धुर जग्गा हिनामिना गरेको कसुरमा प्रतिवादीविरुद्ध दुई करोड ५० लाख ६ हजार ८ सय ६९ रुपैयाँ बिगो, कैद र जरिवाना तथा व्यक्तिका नाममा लगिएको जग्गा जफतको मागदाबी गरेको थियो ।

clock बुधबार २४, पुष २०८१ १७:३७

प्रतिक्रिया