सुदूरपश्चिमका निर्माण व्यवसायी आन्दोलनको तयारीमा
धनगढी । सुदूरपश्चिमका निर्माण व्यवसायी आन्दोलनको तयारीमा जुटेका छन् । सरकारले समयमा भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीहरूले आन्दोलनमा जाने तयारी गरेका हुन् । सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव खेमराज जोशीका अनुसार पुस २७ गते राष्ट्रिय भेला आयोजना हुने र सोही भेलाको म्याण्डेटअनुसार आन्दोलनमा जाने तयारी भएको जानकारी दिए ।
‘आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ देखिक निर्माण कार्य गरेबापतको ठुलो रकम राज्यले भुक्तानी गरेको छैन,’ उनले भने, ‘यसले निर्माण उद्योगमा अत्यन्त विकराल अवस्था सिर्जना भएको छ ।’
भुक्तानीबाहेक सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनमा देखिएको म्याद थपसम्बन्धी कानुनी जटिलता, राष्ट्र बैंकबाट निर्माण व्यवसायीहरूलाई ऋणमा दिइएको सुविधा कटौती, निर्माण कार्य हुने सिजनमै उद्यमीहरूबाट विनाठोस कारण नै खुलेआम कार्टेलिङ गरी सिमेन्ट, डन्डीलगायतका सामग्रीमा भइरहेको चर्को मूल्यवृद्धिले निर्माण उद्योग लगभग ‘कोमा’ मा पुगिसकेको महासचिव जोशीले बताए ।
निर्माण व्यवसायीहरूलाई ऋण–किस्ता, चेक अनादरमा दिएको सहुलियत र कालोसूचीमा नराख्ने समयसिमा मंसिर ०८१ मसान्तसम्म रहेकोमा हालसम्म पनि निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नभएको हुँदा व्यवसायीहरू आर्थिक रूपमा धराशयी भएकोले उक्त सुहलियतको अवधि असारमसान्त ०८२ सम्म थप हुनुपर्ने पनि माग निर्माण व्यवसायीले अगाडि सारेका छन् ।
उनीहरुका अनुसार सिमेन्ट, डन्डीलगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी पछिल्लो एक महिनामा पटक–पटक गरी सिमेण्टमा प्रति बोरा दुई सयभन्दा बढी र डन्डीमा प्रतिकेजी १५ सम्म मूल्यवृद्धि गरिएको छ ।
प्रतिक्रिया