मन्त्रीपत्नी थापाद्वारा १७३ विद्यार्थीलाई न्यानो कपडा वितरण

  सोमबार २२, पुष २०८१ ०७:२१

कञ्चनपुर ।  सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाकी धर्मपत्नी मनसरा थापाले  कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ मा रहेको दुर्गा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेकी छिन् । 

नेकपा एमाले बेलौरी नगर कमिटीका अध्यक्ष नमराज शाहीको पहलमा बिहीबार एक विशेष कार्यक्रमका बीच मन्त्रीपत्नी थापाले उक्त विद्यालयका १७३ जना विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरेक िछिन् । 

जाडो याममा विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै उनीहरूलाई राहत प्रदान गर्ने उद्देश्यले न्यानो कपडा (स्विटर) वितरण गरिएको थापाको भनाइ छ ।त्यस क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र शाहीले विद्यालयको भौतिक र शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको उक्त कार्यको प्रशंसा गर्दै आभार व्यक्त गरे । 

साथै, विद्यालयको थप विकासका लागि मन्त्रीपत्नी थापा मार्फत प्रदेश सरकारलाई ज्ञापन पत्रसमेत पठाइएको छ । उक्त कार्यक्रमले विद्यालयका विद्यार्थी र शिक्षकहरूमा उत्साह र प्रेरणा थपेको  विद्यालयका प्रधानाध्यापक दानबहादुर रावतको भनाइ छ । 

जाडो मौसममा विद्यार्थीहरूको कक्षाकोठामा उपस्थिति सुनिश्चित गर्न र उनीहरूको सिकाइ प्रक्रियालाई सहज बनाउने उद्देश्यले गरिएको उक्त कदम प्रशंसनीय र  प्रेरणादायी रहेको नेकपा एमाले बेलौरी नगर कमिटी अध्यक्ष नमराज शाहीको धारणा छ ।

clock सोमबार २२, पुष २०८१ ०७:२१

प्रतिक्रिया