सुदूरपश्चिमबाट लागूऔषधसहित एकैदिन १३ जना पक्राउ

  शनिबार २०, पुष २०८१ १३:०५

धनगढी । सुदूरपश्चिममा खराब संगत र परिवारको बेवास्ताका कारण युवाहरु लागुऔषधको दलदलमा फस्दै गइरहेका छन् । सामाजिक रूपमा सबैको साथ र सहयोगले मात्र कुलतमा लागेकाहरूलाई सही बाटोमा ल्याउन सकिने प्रहरी अधिकारीहरु बताउँछन् । सुदूरपश्चिममा एकै दिन शुक्रवार प्रहरीले १३ जना युवालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

एकैदिन प्रहरीले सुदूरपश्चिमको तीन जिल्ला कैलालीबाट १०, कञ्चनपुरबाट १ र डडेल्धुराबाट २ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–२ राजीपुरका २३ वर्षीय विक्रम बुढा, १९ वर्षीय मिलन टमटा, धनगढी उपमहानगरपालिका–३ स्थित केदार टोलमा चिया नास्ता पसल गर्ने ४० वर्षीय खेमराज महरा रहेका छन् ।

त्यस्तै, कृष्णपुर नगरपालिका–७ का ३४ वर्षीय मोहन राना, धनगढी–७ का २५ वर्षीय प्रभुपन राना, १८ वर्षीय अमन राना रहेका छन् । यसैगरी, धनगढी –१३ का २९ वर्षीय बाहाली राना, वडा नम्बर ६ का ३१ वर्षीय दिपक राना, कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय प्रदीप राना, ३० वर्षीय अनिल राना पक्राउ परेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ खैरभट्टीबाट लागूऔषध सहित ३१ वर्षीय कैलाश लुहार पक्राउ परेका छन् । उता डडेल्धुराबाट अमरगढी नगरपालिका–५ बागबजार स्थित बसपार्कबाट नवदुर्गा गाउँपालिका–२ बस्ने २६ वर्षीय खेम राज भट्ट र डोटीको शिखर नगरपालिका–८ गोबघाट बस्ने २६ वर्षीय साजन बलायरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसरी युवा पक्राउ पर्ने क्रमलाई हेर्दा सुदूरपश्चिम लागूऔषध प्रयोगकर्ता र कारोबारीको हटस्पट बन्दै गएको देखिएको छ । विशेषगरी कैलाली र कञ्चनपुरमा यसका सेवनकर्ता र कारोबारी बढीरहेका छन् भने पछिल्लो समय सुदूरपश्चिमका पहाडी जिल्लामा पनि यसको प्रभाव बढ्दै गईरहेको छ। तर यसको नियन्त्रणमा भने नेपाल प्रहरी सफल हुन सकेको छैन 

clock शनिबार २०, पुष २०८१ १३:०५

प्रतिक्रिया