कैलाली र कञ्चनपुरमा निर्माण भइरहेको हुलाकी राजमार्ग निर्माणमा बजेट अभाव

  बिहिबार १८, पुष २०८१ १४:३४

धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माण भइरहेको हुलाकी राजमार्गको बाँकी काम पूरा गर्न बजेट अभाव भएको छ । चालु आर्थिक वर्षमा हुलाकी राजमार्ग निर्माणका लागि सङ्घीय सरकारले दिएको बजेटमध्ये धेरै गत आवको दायित्व भुक्तानीमै सकिएपछि बजेट अभाव भएको हो । हुलाकी राजमार्गको आयोजना कार्यालय धनगढीका अनुसार चालु आवमा सरकारले ३२ करोड ५० लाख रुपियाँ बजेट पठाएको थियो । 

पठाइएको बजेटमध्ये २० करोड ६५ लाख रुपियाँ गत आवको दायित्व भुक्तानीमै सकिएको छ । बाँकी रकम निर्माण कम्पनीलाई साउनदेखि असोजसम्मको काम गरेबापतको भुक्तानी गर्दा सकिएको जनाइएको छ । “चालु आवका लागि सरकारले पठाएको बजेट सकिएकाले अहिले बजेटको अभाव छ,” हुलाकी राजमार्ग आयोजनाको कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले भन्नुभयो, “थप बजेट मागका लागि प्रक्रिया अगाडि बढाएका छौँ ।”

उहाँका अनुसार चालु आवमा बजेट नरहे पनि निर्माण कम्पनीले काम भने रोकेका छैनन् । कैलालीको लम्की–टीकापुर खण्ड, भजनी–धनगढीलगायतमा काम भइरहेको छ । “थप बजेट मागका लागि सडक विभागमा टिप्पणी फाइल पठाएका छौँ,” प्रमुख लामिछानेले भन्नुभयो, “बजेट अभाव भए पनि अहिलेसम्म काम रोकिएको छैन । हेरौँ निर्माण कम्पनीले कतिसम्म गर्छन् । उहाँहरूको पनि आफ्नो लिमिटेसन होला ।” थप बजेट नआए काम पूरा गर्न समस्या हुने उहाँको भनाइ छ । आयोजना कार्यालयका अनुसार चालु आवको हालसम्म निर्माण कम्पनीले २० करोड रुपियाँ बराबरको काम गरिसकेका छन् । त्यो रकम भुक्तानीका लागि आयोजनाको कार्यालयसँग बजेट छैन । 

कैलालीमा विभिन्न खण्डमा विभाजन गरेर छुट्टाछुट्टै ठेक्कामार्फत हुलाकी राजमार्ग निर्माणको काम भइरहेको छ । कतिपय खण्डको काम पूरा भइसकेको छ भने कतिपय ठाउँको काम अन्तिमतिर पुगेको छ । धनगढीदेखि भजनीसम्म हुलाकी राजमार्ग स्तरोन्नतिको काम चालु आवमै सक्ने आयोजना कार्यालयको लक्ष्य रहेको छ । यो खण्डमा हाल धनगढी उपमहानगरपालिका–१९ र कैलारी गाउँपालिका–४ क्षेत्रमा काम भइरहेको छ । बजेटका कारण समस्या नभएमा धनगढीदेखि भजनीसम्मको स्तरोन्नतिको काम चालु आवभित्रै पूरा हुने प्रमुख लामिछानेले दाबी गर्नुभयो । 

“अरू क्षेत्रमा पनि भारी प्रगति हुन्छ,” उहाँले भन्नुभयो, “प्रमुख काम सकिन्छन्, केही ठाउँमा पुल निर्माणलगायतका काम बाँकी रहन सक्छन् ।” हुलाकी राजमार्ग अन्तरर्गत कञ्चनपुरको दोदा नदीमा पुल निर्माण भइरहेको छ । 

यसै गरी धनगढी उपमहानगरपालिका धनगढी गाउँ र वडा नम्बर १ र २ जोड्ने स्थानमा खोलामा पुल बन्न बाँकी छ । पुलको काम सम्पन्न हुन अझै समय लाग्ने जनाइएको छ । कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको काम चालु आवमै पूरा गर्ने लक्ष्य रहेको छ । सो जिल्लामा जम्मा ४२ किलोमिटर बन्ने राजमार्गको चार÷पाँच किलोमिटरमा निर्माणको काम बाँकी छ । कञ्चनपुरमा सबै काम यसै आवभित्र सक्ने लक्ष्य रहेको प्रमुख लामिछानेले बताउनुभयो ।  

clock बिहिबार १८, पुष २०८१ १४:३४

प्रतिक्रिया