कैलालीको घुरहा नदीमा भ्वाङ टाले पनि जोखिम कायमै
धनगढी । कैलालीको घुरहा नदीस्थित घुरहा पुलछेउमा परेको भ्वाङ टालटुल पारिए पनि जोखिम कायमै रहेको छ । कैलारी गाउँपालिका–४ केगाउँको खल्ला र वडा नम्बर ६ को भगतपुर जोड्ने स्थानमा रहेको पुलछेउमा परेको भ्वाङ टालटुल पारिएको हो ।
नदीले धार परिवर्तन गरेपछि पुलको पूर्वतिर कटान भई पुल पहुँचमार्गमा भ्वाङ परेको थियो । स्याउला, माटो हालेर कामचलाउका लागि भ्वाङ टालिए पनि दुर्घटनाको जोखिम नटरेको कैलारी गाउँपालिका–६, धर्मापुरका रघुनाथ चौधरीले बताउनुभयो ।
“भ्वाङ परेर ओहोरदोहोरमा समस्या भएपछि टालटुल पार्ने कार्य भयो,” उहाँ भन्नुहुन्छ, “जोखिम भने टरेको छैन । टालटुल पारेको माटो फेरि भासिएर जोखिम बढेको छ ।” स्थानीयका अनुसार पुल निर्माण गर्ने बेला नदीको बहाव पश्चिमतिर थियो । त्यता पुल बनाउनका लागि निर्माण कम्पनीले डोजरले खनेर नदीको बहावलाई पूर्वतिर फर्काएको थियो ।
फर्काइएको बहावलाई पुल बनेपछि पुनः पश्चितिर गरिएन । जसले गर्दा यो समस्या निम्तिएको हो । “नदीको पानी निरन्तर पूर्वतिरबाट बग्दै उतै धार बन्यो,” चौधरीले थप्नुभयो, “पहिले नदी बग्ने ठाउँमा अहिले खरैखर र रुख छ । नदी भने पूर्वतिर गइरहेको छ ।”
प्रतिक्रिया