बैतडीमा एक बालकको मृत्य, खोप लगाएर ज्यान गएको भन्दै सडक अवरुद्ध

  बिहिबार ११, पुष २०८१ १४:०९

बैतडी । बैतडीमा खोप लगाएका कारण बालकको मृत्यु भएको भन्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् । डिलासैनी गाउँपालिका-२ छेपट्टाका मुकेश रानाका २ महिने छोरा आदर्शको बुधबार मृत्यु भएको थियो ।

बुधबार दिउँसो डिलासैनी-३ स्थित सिमार वर्थिङ सेन्टरमा नियमित खोप कार्यक्रम अन्तर्गत उनलाई डिपिटी दोश्रो डोज र पिसिभीको पहिलो डोज खोप लगाइएको थियो भने ओपीभी र रोटा डोज खुवाइएको थियो ।

खोपपछि उनलाई दिउँसो ३ बजेदेखि ज्वरो आई राती र्याल समेत फाल्न थालेपछि उपचारको लागि गोकुलेश्वर लगिएको थियो । गोकुलेश्वरमा उपचार नभएपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको मृतकका आफन्त ध्रुव रानाले बताए ।

घटनापछि आक्रोशित स्थानीयले दिउँसो १२ बजेदेखि गोकुलेश्वर–गन्ना–लटिनाथ सडकखण्ड अवरुद्ध पारेका हुन् । घटनाको निस्पक्ष छानबिन हुनुपर्ने र क्षतिपूर्तिको मागसहित सडक अवरुद्ध पारिएको ध्रुवले बताए ।

सोही विवरणका डोजहरु अघिल्लो दिन पनि केही बालबालिकाहरुलाई लगाइएकोमा केही समस्या नआएको डिलासैनी(३ स्थित रुद्रेस्वर स्वास्थ्य चौकीका इन्चार्ज सन्जु बोहराले बताए । स्वास्थ्य कार्यालय बैतडीले शवको पोष्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने जनाएको छ ।

गाउँपालिका उपाध्यक्षसहित जनप्रतिनिधिको टोली सडक अवरुद्ध पारिएको स्थानमा पुगेर स्थानीयसँग छलफल गरिरहेका बताइएको छ ।
 

clock बिहिबार ११, पुष २०८१ १४:०९

प्रतिक्रिया