कैलालीको टीकापुरबाट सुन र चाँदीका गरगहनासहित २ जना पक्राउ

  बुधबार १०, पुष २०८१ १६:५७

धनगढी  । कैलालीमा सुन र चाँदीका गरगहनासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका–१० बस्ने २५ वर्षीय सुजन शाही र कैलालीको लम्कीचुहा नगरपालिका–४ बस्ने ३४ वर्षीय रम्भा जैशी रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुर, जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय टिकापुरको संयुक्त टोलीले बुधबार दिउँसो साढे १२ बजे टीकापुर नगरपालिका–१ बाट पक्राउ गरेको हो ।

स्थानीय गणेशपुर शिविरका २८ वर्षीय धर्मा जैसीको घरमा खाटमा कालो रंगको झोला राखेर बसिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरूको झोला चेकजाँच गर्दा सुन र चाँदीका गरगहना बरामद गरिएको छ ।

५० ग्रामको चाँदीको सिक्का, पत्थर सहितको हिरा जस्तो देखिने दुईवटा औठी, एउटा सुनको बेरुवा औठी,एउटा सुनको सिक्री, सुनकै पानको पात जस्तो सिक्री, एक जोर झुम्का, सुनको एउटा औठी,  खुट्टाको औलामा लगाउने दुईवटा बिछिया, एउटा नागिनी माला, एक जोर चारकुने टप बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, कानमा लगाउने स्टार भएको एक थान झुम्का, सुनको एक जोर रिङ, सुनको सानो टुक्रा, १३ हजार नगद र एफजेड यमाहा कम्पनीको लुप्र.०१–००३ प २२९९ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ ।

clock बुधबार १०, पुष २०८१ १६:५७

प्रतिक्रिया