बाजुराको बुढीगंगालाई धुवाँरहित पालिका बनाइने

  बुधबार १०, पुष २०८१ १२:१२

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकालाई धुवाँरहित पालिका बनाइने भएको छ । नगरपालिकाले महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै सुधारिएको चुलोमार्फत दुई वर्षभित्र धुवाँरहित पालिका घोषण गर्ने तयारी गरिरहेको हो ।

नगरप्रमुख रामबहादुर बानियाले महिलालाई भएको कार्यबोझमा कमी ल्याउनुका साथै धुँवा धुलोको कारण लाग्ने रोगबाट बचाउने उद्देश्यका साथ पालिकालाई २ वर्षभित्र धुवाँरहित घोषणा गर्ने अभियानमा लागेको बताए ।

उनका अनुसार प्राटिकल एक्शनको आर्थिक सहयोग र आस्था नेपालको प्राविधिक सहयोग तथा समन्वयमा सुधारिएको चुलो वितरणको काम भइरहेको छ ।

पालिकामा दुई वर्षमा ४ हजार ५५४ घरपरिवारमा धुवाँरहित चुलो पुर्याउने गरेर सहमति भई वडा नम्बर ९ र १० बाट सो कार्यको थालनी भइसकेको नगरप्रमुख बानियाले बताए । पालिकालाई धुवाँमुक्त गर्ने अभियानमा यो वर्ष २ हजार ५ सय परिवारलाई सुधारिएको चुलो वितरण गरिने उनले बताए ।

धुवाँका कारण लाग्ने रोगमा कमी, वन फँडानी नियन्त्रणजस्ता प्रत्यक्ष फाइदाका अलावा पर्यावरणमा समेत सहयोग पुर्याउने उद्देश्यका साथ सुधारिएको चुलो वितरण कार्यक्रमलाई अगाडि बढाइएको बताइएको छ ।

clock बुधबार १०, पुष २०८१ १२:१२

प्रतिक्रिया