कैलालीको भजनीमा बोक्सी भन्दै महिलामाथि कुटपिट गर्ने गुरुवासहित ४ जना पक्राउ

  बुधबार १०, पुष २०८१ ११:४३

धनगढी । कैलालीमा बोक्सी लागेको आरोपमा महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भजनी नगरपालिका–१ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै निर्घात कुटपिट गरेको अभियोगमा गुरुवासहितका चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भजनी नगरपालिका–१ का २८ वर्षीय मनोज चौधरी, ५१ वर्षीय बाबुराम चौधरी, ४५ वर्षीय लाहानु चौधरी र ३५ वर्षीय रुपा चौधरी रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले जानकारी दिए ।

उनकाअनुसार २८ वर्षीया महिलामाथि बोक्सीको आरोपमा कुटपिट गरेको किटानी जाहेरी परेपछि चारै जनालाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको हो ।

किटानी जाहेरी दिइएका मध्ये दुई जना फरार रहेकाले उनीहरुको खोजी जारी छ । पक्राउ परेका मध्ये मनोज चौधरी गुरुवा भएको प्रहरीको भनाई छ । बोक्सीको आरोपमा ४ पुसमा कुटपिटमा परेकी महिलाको धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

clock बुधबार १०, पुष २०८१ ११:४३

प्रतिक्रिया