दार्चुलाको मार्मामा बिजुली पुग्यो, स्थानीय खुशी

  मङ्गलबार २५, मङि्सर २०८१ १७:००
मार्मा गाउँपालिकामा निर्माण भएको विद्युत्को ३३ केभी सवस्टेशन उद्घाटन समारोह ।

बैतडी । गाउँमा यति छिटै बिजुली आउँला र उज्यालोमा बसौला भन्ने कल्पनासमेत नगरेका ७२ वर्षीय कल्याण टमटा गाउँमा बिजुली बलेपछि दङ्ग पर्नुभएको छ।

नेपाल विद्युत् प्राधिकरणले दार्चुलाको मार्मा गाउँपालिकामा १२ करोड ७८ लाख रुपियाँ खर्च गरेर ३३ केभी विद्युत्को सवस्टेशन निर्माण गरेपछि टमटासहित यहाँका दुई पालिकाका २५ हजार बासिन्दा विद्युत्को पहुँचमा जोडिएका छन् । 

मार्मा गाउँपालिका–२, पारिबगर–लटैनाथ सवस्टेशन निर्माणको काम सम्पन्न भएपछि आईतबार प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जङ्गबहादुर चन्द र मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्नहुँदै गाउँपालिका अध्यक्ष धामीले सवस्टेशनबाट मार्मा गाउँपालिका, अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिका–१,का २५ हजार बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएको बताउनुभयो । 

स्थानीय तहको पुर्नसंरचना हुनुअघि मार्माली जनता झरो र टुकी बाल्दै आएको अध्यक्ष धामीले स्मरण गर्नुभयो । उहाँले स्थानीय सरकारले अधि सारेको विद्युत्को मागलाई विद्युत् प्राधिकरणले महत्व दिएर बजेट विनियोजित गर्दा झरो बाल्ने गाउँमा बिजुली पुगेको बताउनुभयो । 

शैल्यशिखर नगरपालिका–१, बलाँचमा रहेको चमेलिया जल विद्युत्बाट २० किलोमिटर टाढा मार्मा गाउँपालिका–१, पारीबगरसम्म लाईन तानेर ३३ केभी सवस्टेशन निर्माण गरिएको छ । योजनाका लागि २० करोड रुपियाँको लागत अनुमान भए पनि १२ करोड ७८ लाख मात्रै खर्च भएको विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरीयाका प्रमुख जङ्गबहादुर चन्दले बताउनुभयो ।  

ठेक्कमामार्फत समयमै सवस्टेशन निर्माण भएपछि मार्मा गाउँपालिकाका १४ हजार ९५६ जनसङ्ख्या, अपिहिमाल गाउँपालिकाका छ हजार ७९८ र शैल्यशिखर नगरपालिका–१,का चार हजार जनसङ्ख्या गरि २५ हजारभन्दा बढी जनसङ्ख्या लाभान्वित भएको विद्युत् वितरण केन्द्र दार्चुलाका कार्यालय प्रमुख इन्जिनियर आनन्द सापकोटाले बताउनुभयो। 

सवस्टेशन निर्माणपछि गाउँ गाउँमा विद्युत् बिस्तार हुँदा स्थानीय खुशी भएको सामाजिक अगुवा नरबहादुर बिष्टले बताउनुभयो । चमेलिया नदीसँग जोडिएको दार्चुलाको मार्मा गाउँपालिकापछि प्राधिकरणले बैतडीको डिलासैनी गाउँपालिकामा पनि पूर्ण विद्युतीकरणको काम अघि बढाएको बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताउनुभयो । 

दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीबाट हालसम्म सरकारीको स्वामित्वमा रहेको बलाँचबाट ३० मेगावाट र निजी क्षेत्रको ६५ मेगाबाट गरि हाल ९६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । 

बैतडी र दार्चुला जिल्लालाई दुई वर्ष भित्र पूर्ण विद्युतिकरण गर्ने उदेश्यले बैतडीको मेलौली नगरपालिका, दोगाडाकेदार गाउँपालिका, सिगास गाउँपालिका र पाटन नगरपालिकामा ३३ केभी सवस्टेशन निर्माणको काम भइरहेको छ । 

दार्चुलाको मार्मा सवस्टेशनको काम १८ महिनामा सम्पन्न हुँदा बैतडीमा भने तीन वर्षसम्म पनि निर्माणको काम पूरा नहुँदा मेलौली नगरपालिकाका स्थानीयले बिजुली उपभोग गनए नपाएको सवस्टेशनका लागि जग्गा दिनुहुनु पूर्व नगरप्रमुख एवं स्थानीयवासी कृष्णसिंह नायकले गुनासो गर्नुभयो ।   

clock मङ्गलबार २५, मङि्सर २०८१ १७:००

प्रतिक्रिया