बैतडीमा किशोरी बेपत्ता प्रकरणः प्रहरी हवल्दार जेलमा, किशोरीको छैन अत्तोपत्तो
बैतडी । बैतडीबाट एक किशोरी गायब भएको २ महिना पुग्न लागेको छ। तर ती किशोरीको अहिलेसम्म कुनै अत्तोपत्तो लाग्न सकेको छैन। जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १७ वर्षीया किशोरी बेपत्ता प्रकरण अहिले पनि रहस्यमै छ।
महाकाली प्रहरी चौकीका तत्कालीन इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीमाथि किशोरी बेपत्ता पारेको आरोप छ। दशैंको अघिल्लो दिन असोज २५ गते स्थानीयले जोशीलाई दाम्लोले बाँधेर प्रहरीको जिम्मा लगाएका थिए। किशोरी बेपत्ता भएको दुई महिना पुगेको छ। तर पानी ल्याउँछु भन्दै विहान घरबाट निस्केकी ती किशोरीको अवस्था अहिलेसम्म अज्ञात छ।
आरोपित प्रहरी हवल्दार जोशी भने पुर्पक्षका लागि कारागार चलान भएका छन्। किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता पारेको पीडित परिवारको आरोप छ। प्रहरी हवल्दार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्बिरसहितको विवरण समेत किशोरीका आफन्तले प्रहरीसमक्ष बुझाएका छन्। हवल्दार जोशीले भने किशोरीलाई बेपत्ता आफूँले नपारेको बयान दिएका छन्।
डिम्बरका स्थानीयले प्रहरीबाटै असुरक्षित भएको गुनासो गरेपछि अहिले महाकाली प्रहरी चौकीमा कार्यरत प्रहरीलाई कुलाउ सारिएको छ। स्थानीयले प्रहरी चौकी सार्न माग गरेपछि डिम्बरका प्रहरी वडा नम्बर ३ को कुलाउ बस्न थालेका छन्। किशोरी बेपत्ता भएपछि कार्तिक १३ गते आरोपित प्रहरी हवल्दार जोशीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। घटना भएकै दिन प्रहरीले नियन्त्रणमा लिएर उनीमाथि अनुसन्धान गरेको थियो।
प्रहरीले जोशीलाई निलम्बन गरेर उनीमाथि अनुसन्धान गरेको थियो। जोशीमाथिको अनुसन्धान सकेपछि उनलाई सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पेश गरिएको थियो। मानिस बेपत्ता पार्न नहुने कसुरमा जोशीमाथि अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।
बेपत्ता किशोरी र जोशीबिच सम्बन्ध रहेको र सोही सम्बन्धका कारण जोशीले किशोरीलाई बेपत्ता पारेको आरोप लागेको छ। बेपत्ता हुनु अघि किशोरीले हवलदार जोशीसंग भेटघाट समेत गरेकी थिइन्। घटनाको अनुसन्धानका लागि सिआइबीको टोलीसमेत खटिएको छ। तर अहिलेसम्म बेपत्ता किशोरीको कुनै पत्ता लागेको छैन। तत्कालिन प्रहरीचौकी इञ्चार्ज जोशी र ती किशोरीबिच सम्बन्ध रहेको विषय खुलेको छ। विवाहित जोशीले ती किशोरीसँग विवाह गर्न इन्कार गरी बेपत्ता पारेको आरोप छ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया