आज विवाह पञ्चमी : राम–सीताको विवाह गरिंदै
जनकपुरधाम । जनकपुरधाममा आज सीताराम विवाहपञ्चमी महोत्सव धुमधामसाथ मनाइँदै छ। मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा यो महोत्सव प्रत्येक वर्ष जनकपुरमा भव्यताका साथ मनाइन्छ ।
मंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवको मुख्य दिन आज हो। त्रेता युगमा प्राचीन मिथिलाको राजधानी जनकपुरमा जसरी राम र सीताको विवाह भएको मान्याता छ त्यसरी नै अहिले पनि राम–जानकीको डोलालाई स्वयम्बर गराएर वैदिक परम्पराअनुसार विवाह गर्ने गरिएको छ ।
आज दिउँसो बाजागाजा र झाकीसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्कन्छ । यी डोलाहरू जनकपुरको ऐतिहासिक रंगभूमि मैदान, बाह्रविघामा पुगेर मिलन भएपछि डोलाफेर गरी स्वयम्बर गरिन्छ ।
राम मन्दिरका महन्थ रामगिरी भगवान रामका पिता राजा दशरथको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव राजा जनकको भूमिकामा छोरी पक्षको प्रतिनिधित्व गर्छन् ।
स्वयम्बरपश्चात दुवै डोलाले नगर परिक्रमा गर्दै जानकी मन्दिरमा प्रवेश गर्छन् । साँझदेखि वैदिक परम्पराअनुसार राम र जानकीको विवाह विधि सुरु हुन्छ। मैथिली परम्पराअनुसार रातभर विशेष विवाह विधि सम्पन्न गरिन्छ ।
प्रतिक्रिया