सुदूरपश्चिमको चन्द दम्पती नै डीआईजी

  बुधबार १९, मङि्सर २०८१ ०७:०५

धनगढी । सुदूरपश्चिम घर भएको चन्द दम्पती डीआईजी पदमा पुगेका छन्। नेपाल प्रहरीकी डीआईजी दुर्गा सिंह चन्दका पति गणेश चन्दको एसएसपीबाट बढुवा भएपछि पति–पत्नी नै डीआईजी बनेका हुन्।

उसो त नेपाल प्रहरीमा कार्यरत श्रीमान्र श्रीमती धेरै नै छन्। तर, एउटै संगठनमा काम गरेर उपल्लो तहमा पुग्ने प्रहरी अधिकारी विरलै छन्। यहीँ अपवादको जोडी बनेको छ– दुर्गासिंह चन्द र गणेश चन्द। त्यसो त, श्रीमान् गणेश चन्दभन्दा सिनियर हुन्, दुर्गा सिंह चन्द।

२०५१ चैतमा प्रहरी निरीक्षकमा एकै साथ सेवा शुरु गरेका दुर्गा डीएसपी बढुवादेखि श्रीमानलाई पछि पार्दै सिनियर बनेकी थिइन्। उनीहरुको विवाह दुवै प्रहरी निरीक्षक हुँदा २०५६ सालमा भएको हो। डीएसपी बढुवादेखि श्रीमानभन्दा सिनियर बनेकी दुर्गाले डीआईजी बढुवा हुँदासम्म कायम राखिन्।

एसएसपीबाट डीआईजीमा गणेश चन्द बढुवा हुँदा दुर्गासिंह गण्डकी प्रदेश प्रहरीको कमाण्ड सम्हालिरहेकी छन्। उनी एआईजी बढुवाको प्रबल दावेदार समेत हुन्। दुर्गा २०७९ असार १७ मै डीआईजीमा बढुवा भएकी थिइन्। डीआईजीमा बढुवा भएका श्रीमान गणेश चन्दलाई उनले फेसबुकमार्फत नै बधाई साटेकी छन्।

फेसबुकमार्फत बधाई दिँदै सिंहले भनेकी छन्, ‘बधाई छ, राजा तपाईंले डीआईजी पदोन्नतिको योग्यता पाएकामा। २९ वर्षको लगनशील, कडा परिश्रम अन्ततः सार्थक भएको छ। तपाईंको निडर आत्मा, आशावादी र दृढ संकल्प हामी सबैका लागि प्रेरणा हो।’

उनले अघि थपेकी छन्, ‘‘म तपाईंलाई हरेक दिन विश्मय र पूर्णगर्वका साथ हेर्छु तपाईं हाम्रो घर र जीवनको तारा हुनुहुन्छ।’’ डीआईजी दुर्गा सिंह आउँदो चैतमा प्रहरीको ३० वर्षे सेवा हदका कारण अवकाश जानेछिन्। उता चन्द भने डीआईजीको ५६ वर्षे उमेर हदका कारण आउँदो पुसमा अवकाशमा जाँदैछन्।

clock बुधबार १९, मङि्सर २०८१ ०७:०५

प्रतिक्रिया