घोरीघोरा कि घोडाघोडी ताल ?

  बिहिबार १३, मङि्सर २०८१ ०९:४०

धनगढी। ‘घोरीघोरा देउथान’, कैलालीको प्रसिद्ध घोडाघोडी ताल क्षेत्रमा रहेको थारू समुदायका कुल देवता राख्ने ‘मरुवा’ मा लेखिएको शब्द हो, यो । पुर्खौंदेखिको देसावर मरुवालाई सो समुदायका मानिसले घोरीघोरा देउथान नाम दिएका हुन् । 

घोरीघोरा तालको नामबाट देउथानको नाम घोरीघोरा रहन गएको थारू समुदायका व्यक्ति बताउँछन् । यो समुदायले घोरीघोराका रूपमा चिनेको ताल विश्वव्यापी रूपमा घोडाघोडी तालका रूपमा परिचित छ । यद्यपि यसलाई घोडाघोडी भन्ने वा घोरीघोरा ताल, त्यो विवाद भने अझै कायमै छ । 

कैलालीको मूलवासी थारू रहेको विभिन्न समाजशास्त्री, मानवशास्त्रीको अध्ययनले पुष्टि गरेको छ । यो जिल्लामा सबैभन्दा पहिले थारू बसेकाले घोडाघोडी तालको वास्तविक पहिचानको नाम थारूले भन्दै आएको ‘घोरीघोरा’ रहेको सो समुदायको जिकिर छ तर थारू शब्द घोरीघोरालाई नेपालीमा उल्था गरी घोडाघोडी बनाएर प्रचलनमा ल्याएको उनीहरू बताउँछन् । 

घोडाघोडी तालको वास्तविक नाम घोरीघोरा रहेको भन्दै सो समुदायले आवाज पनि उठाए तर उनीहरूको आवाज र कोसिसले सार्थकता पाउन सकेन । शासन, प्रशासनमा थारू समुदायको प्रतिनिधित्व र पहुँच नभएकाले घोरीघोरा ताललाई गैरथारू समुदायले घोडाघोडी ताल बनाएको र त्यही नाममा कागजपत्र तयार गरेको घोडाघोडी नगरपालिकाका पूर्वनगरप्रमुख ममताप्रसाद चौधरीको ठम्याइ छ । 

“घोडाघोडी हैन, घोरीघोरा ताल हो भनेर कार्यकारी भएको बेला मैले नै धेरै आवाज उठाएँ,” उहाँले भन्नुभयो, “तर, घोरीघोरा लेखाउन सकिएन । आफ्नै थातथलोमा हामी थारू अल्पमतमा पर्दै गएका छौँ । घोराघोरी नाम नगर सभाबाटै पास हुने अवस्था थिएन ।”

हिन्दुको पशुपति नाथ, बौद्ध धर्मावलम्बीहरूको लुम्बिनी भने जस्तै थारू समुदायका लागि घोडाघोडी ताल पवित्र स्थान मानिन्छ । उनीहरूले घोरीघोरा देउथानमा हरेक वर्ष लवाङ्गी पूजा गर्ने र ढाक बजाउने गर्छन् । यो स्थानमा पूर्वदेखि पश्चिम कञ्चनपुरसम्मका थारू समुदायको आस्थाको ठुलो देउथान बनाउन नसक्दा थारू पहिचान गुम्दै गइरहेको बताइएको छ । 

“संस्कृति तथा पर्यटन मन्त्रालयबाट बढी बजेटको ठुलो देउथान बन्नु पर्दथ्योे,” पूर्वनगरप्रमुख चौधरीले भन्नुभयो, “तर यहाँ विभिन्न मन्दिर, प्रतिष्ठान बनाइयो । फाइदा त्यही बनाउनेले नै लिइरहेका छन् ।”

ताल रहेको क्षेत्रमा कुनै बेला सात गाउँ रहेको थारू समुदायका मानिस बताउँछन् । घनघोर वर्षापछि गाउँ सम्याएर ९डुबेर० तालमा परिणत भएको उनीहरूको बुझाइ छ । सो तालमा सबैभन्दा पहिले घुम्न आउनुभएकी लक्ष्मी भगवान् घोरीको भेषमा बास बसेको बताइन्छ । त्यसपछि घुम्न आएका विष्णु भगवान्ले सुन्दर घोरी देखेपछि उहाँ पनि भेष बदलेर बसेको किंवदन्ती रहेको छ । सुरुको उत्पत्ति नै घोरीबाट भएकाले यो ताल घोरीघोराका रूपमा चिनिएको घोरीघोरा लवाङ्गी पूजाका संयोजक बुधराम चौधरीको भनाइ छ । 

“तालको बारेमा घोरी र घोराको इतिहास नै छ,” उहाँले भन्नुभयो, “त्यसैले तालको खास पहिचानको नाम घोरीघोरा हो ।” थारू समुदायले सुरुदेखि भन्दै आएको नामलाई बिगारेर अन्य समुदायले पहिचान ओझेलमा पार्न खोजिरहेको उहाँले उल्लेख गर्नुभयो । पहिचान स्थापित गर्न आफूहरूले हरेक वर्ष घोरीघोरा लवाङ्गी पूजा आयोजना गर्दै आएको चौधरीको भनाइ छ । 

clock बिहिबार १३, मङि्सर २०८१ ०९:४०

प्रतिक्रिया