पहिलो तलबले आमाको चप्पल किन्ने पदमको  धोको

  बिहिबार १३, मङि्सर २०८१ ०९:३७

बैतडी । भारतमा ज्याला मजदुरी गर्दै अध्ययन गरेर माध्यमिक तहको अङ्ग्रेजी विषयको स्थायी शिक्षकमा नियुक्त हुनुभएका पदम विश्वकर्माले पहिलो तलब आउनेबित्तिकै आमालाई चप्पल र गुन्यु किन्ने बताउनुभएको छ । 

पदम बुवाको वार्षिकी मनाउन बैतडीबाट मङ्गलबार डोटी पुग्नुभएको छ । उहाँका पिता दिलु कामीको यही मङ्सिर १३ गते वार्षिक पुण्यतिथि रहेको छ । मिर्गौला रोगबाट पीडित पदमका बुवा दिलु कामीको गत वर्ष निधन भएको थियो । 

भारतमा चौकीदारी गरेर पढाइ गर्नुभएका दिपायल सिलगढी नगरपालिका–८, डोटीका पदमको पदस्थापन बैतडीको मेलौली नगरपालिका–४, तिताबैस्थित विजयपुर माविमा भएको छ । शिक्षक सेवा पास गरेर विद्यालयमा हाजिर भएर उहाँ बुवाको वार्षिकी मनाउन घर जानुभएको हो । घर पुग्दा बुवाको तस्बिर छातीमा टाँसेर पदमले आमा, दुई जना भाइ, श्रीमती र दुई छोरासँग सामूहिक तस्बिर खिच्नुभएको छ । 

आमाको खुट्टा र आँगनको माटोलाई ढोगेर उहाँले परिवारसँग सुख साटेको बताउनुभयो । घर पुग्दा बुवाको अभाव खट्किएको बताउनुभयो । शिक्षक सेवा आयोगको तयारी गरिरहेकै बेला बुवाको निधनले विक्षिप्त बने पनि बुवाको हौसला टुट्न नदिएको पदमले बताउनुभयो । मजदुरी गर्दै उपचार गराइरहनुभएका बुवाको मिर्गौला फेर्न नसकेपछि घर फर्काएर ल्याउँदै गर्दा गत वर्ष बिच बाटोमै निधन भएको उहाँले बताउनुभयो । 

गरिबीले खान लगाउन नपाएपछि उहाँका बुवा दिलु कामीसँगै पदम पनि २०६२ सालमा सुदूरपश्चिमबाट भारतको मुम्बै जानुभएको थियो । पदम त्यतिबेला नौ वर्षका थिए । बुवासँगै होटेलमा भाँडा माज्ने काममा लाग्नुभएका पदमले बुवाको प्रेरणाले त्यहाँ कक्षा ४ देखि १२ सम्म पढ्ने मौका पाउनुभयो । त्यसपछि स्वदेश फर्केर डोटी बहुमुखी क्याम्पसबाट अङ्ग्रेजी मूल विषय लिएर पदम बिएड उत्तीर्ण गरेर शिक्षक सेवा आयोगबाट मावि स्थायी शिक्षक बन्न सफल हुनुभएको छ । 

पदम विश्वकर्मा अरूका लागि पनि प्रेरणाको स्रोत भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । उहाँले, शिक्षा आर्जन गर्ने चाहना भए जस्तोसुकै परिस्थितिले पनि रोक्न नसक्ने पदम एक उदाहरण बनेको बताउनुभयो । 

घरको आर्थिक अवस्था कमजोर भएकै कारण पदमका दुई जना भाइ दशरथ विश्वकर्मा र अशोक विश्वकर्माले अध्ययन गर्न सकेनन् । उहाँका दुवै भाइ कक्षा ७ र ८ को बिचमै पढाइ छाडेर भारत गएका थिए ।  दुई जना भाइको कमाइले पनि बुवाको उपचार सम्भव नभएपछि घर फर्काउनु परेको पदमले पीडा सुनाउनुभयो । बुवाको वार्षिकी मनाउन भाइहरू पनि मुम्बईबाट घर फर्किएको उहाँले बताउनुभयो । 

वार्षिकी मनाएर दुई छोरालाई आफूसँगै बैतडी लगेर पढाउने धोको रहेको पदमले सुनाउनुभयो । भाइहरूले विवाह गर्ने तयारी गरेकाले आमाको हेरचाह हुने भएकाले बालबच्चालाई साथमै राखेर पठाउने योजना रहेको उहाँले बताउनुभयो ।   

clock बिहिबार १३, मङि्सर २०८१ ०९:३७

प्रतिक्रिया