घरमै बस्ने महिलाले ‘शनिबारे’ मेलाबाट आम्दानी गर्न थालेपछि दङ्ग
धनगढी । कैलालीको धनगढी उपमहनगरपालिकाले मंसिर १ गते शनिवारदेखि सुरु गरेको शनिवारे महिला उद्यमी मेलामा धनगढी–८ की उमादेवीले सेल रोटी र पकौडाको स्टल राखेकी थिइन्। घरमै समय बिताउने उमादेवी शनिवारे मेलाका कारण आफ्नो आम्दानीको बाटो खुलेकोमा उत्साहित थिइन्।
यस्तै, मोहनपुरकी उमा तामाङले शनिवारे मेलामा अचारको स्टल राखेकी थिइन्। अघिल्लो शनिवार स्टल बुकिङ भएका कारण अचारको स्टल राख्न नपाएको बताउने तामाङले यो पटक चार किसिमको अचार बिक्रीको लागि राखेकी छन्।
मेलाका कारण अचार बनाउने उत्साह बढेको र मेला हप्तामा दुई दिन लगाए महिलाले आम्दानी गर्न थप सहज हुने तामाङको सुझाव छ। ‘मेला एकदम राम्रो छ। गत शनिवार स्टल बुकिङ भइसकेकाले पाएन। यो पटक चार किसिमको अचार राखेकी छु,’ उनले भनिन्, ‘मेला लाग्दा घरमै बस्नुपर्ने र बनाएको अचार बिक्री गर्न समस्या थियो। अब सहज हुने भएको छ। मेला हप्तामा दुई दिन लागे झन राम्रो हुन्थ्यो।’
मंसिर ८ गतेको शनिवारे मेलामा धनगढीका महिला उद्यमीले ६० वटा स्टलमा आफूले बनाएका बस्तु र खाना तथा खाजाको परिकार राखेका थिए। मेलामा रानाथारु, चौधरी तथा पहाडी खानाका परिकारहरू राखिएका थिए। मेला लगाउन सुरू भएकाले घर बसेका बेरोजगार महिलालाई आम्दानीको अवसर जुटेको धनगढी–८ की रन्जिता रानाले बताइन्। उनले उपमहानगरले मेला लगाउन थालेकाले महिलाका लागि आम्दानी गर्ने बाटो खुलेको बताइन्।
प्रतिक्रिया