आजदेखि धरहरा चढ्नलाई पैसा तिर्नुपर्ने, कति तोकिएको छ शुल्क ?
काठमाडौं । आज आइतबारदेखि धरहरा चढ्दा पैसा तिर्नुपर्ने भएको छ । परीक्षणका रूपमा यसअघि निःशुल्क खुला गरिएको धरहरा चढ्न अब पैसा लाग्ने भएको हो । स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रूपैयाँ शुल्क तोकिएको छ ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण गर्न शहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेको थियो ।
उक्त प्रस्ताव स्वीकृत भएसँगै यही आइतबारदेखि धरहरा चढ्दा उल्लिखित शुल्क लाग्ने मन्त्रालयले जनाएको छ ।
स्वदेशी नागरिकको हकमा भने विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।
यस्तै, धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रतिघण्टा २० र दुई पाङ्ग्रेलाई १० रूपैयाँ तोकिएको छ ।
यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन ९व्यावसायिक बाहेक० गर्न प्रतिघण्टा पाँच हजार, धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार शुल्क निर्धारण गरिएको छ ।
प्रतिक्रिया