बैतडीमा किशोरी बेपत्ता प्रकरण : अनुसन्धानको जिम्मा सिआइबीलाई
बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका-२ डिम्बरकी १७ वर्षीया किशोरी बेपत्ता प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेको छ ।
बेपत्ता भएको एक महिनासम्म पनि किशोरीको अवस्था अज्ञात रहेकाले सिआइबीले अनुसन्धान थालेको हो । कार्तिक १३ गते जिल्ला अदालत बैतडीले बेपत्ता प्रकरणका आरोपित प्रहरी हवल्दार कृष्णराज जोशीलाई पूर्पक्षका लागि कारागार चलान गरेको थियो ।
त्यसपछि प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले यस प्रकरणमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक, मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
गत असोज २५ गते किशोरी बेपत्ता भएकी थिइन् । सोही दिन पञ्चेश्वर-२ कै महाकाली प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार कृष्णराज जोशीलाई महाकाली नदीपारीको भारतीय भूमिबाट स्थानीयहरुले नियन्त्रणमा लिएका थिए । प्रहरी चौकी डिम्बर गाउँमै अवस्थित छ ।
किशोरी र हवल्दार जोशीको कुनै न कुनै सम्बन्ध रहेको पुष्टि भइसकेको छ । केही तस्बिरहरु पनि सार्वजनिक भएका थिए भने, प्रहरी अनुसन्धानबाट पनि २५ गतेसम्म किशोरीसँग भेट भएको निष्कर्ष निकालिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरिक्षक, मिश्रले असोज २५ गतेसम्म किशोरी र प्रहरी हवल्दार जोशीको भेट भएको अनुसन्धानमा देखिएको बताएका छन् ।
तर किशोरीको अवस्थाका बारेमा अहिले कुनै जानकारी सार्वजनिक गरिएको छैन । उनको अवस्थाको बारेमा अहिले भन्न नसकिने प्रहरीले बताएको छ । सिआइबी र जिल्लाको प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक मिश्रले बताउनुभयो ।
प्रतिक्रिया