अछाममा रक्सीले मातेका असइलाई स्थानीयले रामधुलाई गरेपछि.....

  आइतबार २५, कार्तिक २०८१ १३:३२

अछाम । अछामको तुर्माखाद गाउँपालिकामा कार्यरत रहेका एक जना प्रहरी सहायक निरीक्षकलाई स्थानीयले कुटपिट गरेको खुलेको छ ।

गाउँपालिकाको वडा नम्बर १ रहफस्थित प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक असई महेश सिंह धामीलाई स्थानीय जनताले कुटपिट गरेका हुन् ।

स्रोतका अनुसार यही कार्तिक १४ गते राति असई धामी ड्युटीको समयमा मातहतको कुनै पनि प्रहरीलाई खबर नगरी २ किलोमिटर टाढाको गाउँमा एक्लै पुगेका थिए ।

रातिको समयमा मदिराले मातिएका धामीले होहल्ला गर्दै गाली बेइज्जती गरेपछि स्थानीय जनताले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । घटनामा प्रहरी निरीक्षक धामी घाइते भए पनि यो घटना बाहिर कतै सार्वजनिक नगरिएको स्रोतको दाबी छ ।

चाडपर्वको अवसरमा जनतालाई शान्ति र सुरक्षा प्रदान गर्नुपर्ने प्रहरी कर्मचारीबाट अमर्यादित हर्कत भएपछि स्थानीयले यसको प्रतिवाद गरेका थिए ।

रहफ प्रहरी चौकीका इन्चार्ज धामीले मदिरा सेवन गरि उपद्रो मच्चाएको र उनीमाथि कुटपिट भएको बिषयमा जिल्ला प्रहरी कार्यालयमा कुनै पनि जानकारी नभएको बताईएको छ ।

clock आइतबार २५, कार्तिक २०८१ १३:३२

प्रतिक्रिया