लालझाडीका बडायक दम्पती हत्या प्रकरण : एक सातासम्म अन्यौलमै प्रहरी, स्थानीय त्रसित
कञ्चनपुर । लालझाडी गाउँपालिका-१ विनवारीमा रमेश बडायकको संयुक्त परिवारको बसोबास छ । दाई भाई छोरा भतिजा लगायतका परिवारका सबै सदस्य त्यहीँ बस्छन् । संयुक्त घर भन्दा दुई किलोमिटर टाढा सुख्खडमा रमेशले मदिरा र मासु पसल सञ्चालन गरेका थिए । सानो घरमा रहेको पसलमा उनी श्रीमती कमलासंगै बस्थे । गत बिहीबार बिहान ४६ वर्षीय रमेश र उनकी श्रीमती ४३ वर्षीया कमला मृत अवस्थामा भेटिए । उनीहरुको अनुहार र टाउकोमा घाउ चोट रहेको प्रहरीले जनाएको छ ।प्रहरीले दुवैजनाको शुक्रबार राति हत्या भएको आशंका गर्दै अनुसन्धान गरिरहेको छ । तर साता दिनसम्म पनि उक्त घटनाबारे प्रहरी अलमलमै रहेको छ । अहिलेसम्म घटनाबारे कुनै क्लु प्रहरीले फेला पार्न सकेको छैन ।
‘दुई वटा गाउँ पुरै स्क्रिनिंग गरिसक्यौं, शंकास्पद धेरैलाई निगरानी र नियन्त्रणमा लिएर सोधपुछ गरिसकेका छौं,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले भने, ‘हेर्दाखेरी रिसिइबीजस्तो देखिन्छ, तर अहिलेसम्म ठोस क्लु भेटिएको छैन ।’ डीएसपी जोशीलाई घटनाको अनुसन्धान अधिकृत तोकिएको छ । हालसम्म प्रहरीले घटनाको अनुसन्धानका क्रममा करिब २ सय जनालाई सोधपुछ गरिसकेको छ । घटनास्थल एकान्त ठाउँमा छ । घटना भएको घर वरपर अन्य घर पनि छैनन् । ‘करिब २ सय मिटर टाढा सामुदायीक वनको कार्यालय छ,अन्य घर पनि त्यति नै टाढा छन्,’ डीएसपी जोशीले भने, ‘हामीले शंकास्पद व्यक्ति र मृतकहरुको कल डिटेल पनि अध्ययन गरिरहेका छौं ।’
घटनाका दिन बडायकको जेठो छोरा निरज पनि राती साडे ८ वजेसम्म आमा बुवासंगै थियो । त्यसपछि निरज घरमा गएको डीएसपी जोशीले बताए । राती साडे ९ वजेतिर अर्को गाउँका एकजनाले मृतक रमेशसंग फोनमा कुरा गरेको देखिन्छ । पेष्टमार्टम रिपोर्टमा पनि चोटकै कारण मृत्यु भएको खुलेको डीएसपी जोशीले बताए । बडायक दम्पतीको रातीको समयमा हत्या भएको प्रहरीको अनुमान छ । तर हत्या किन र कसले गर् यो भन्नेबारे भने कुनै ठोस तथ्य फेला नपरेको उनले बताए । बिहीबार बिहान कमलाको शव खाटमुनि भेटिएको थियो भने रमेशको शव खाटमै थियो । घटना हुदा रमेशले संघर्ष गरेको हुन सक्ने प्रहरीको प्रभारम्भिक अनुसन्धानले देखाएको छ । यद्यपि घटना कतिबेला भएको भनेर अझै यकिन हुन सकेको छैन ।
बडायक दम्पतीको हत्या भएको सातादिनसम्म पनि अपराधी पत्ता नलाग्दा स्थानीय त्रसित भएको छन् । ‘एक हप्तासम्म केही पत्ता लागेन हामी सबै अन्यौलमै छौं,’ लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले भने, ‘गाउँले सबै डराएका छन् ।’ लालझाडी गाउँपालिकाका रानाथारु समुदायको बाहुल्यता रहेको छ । रानाथारु समुदायको बसोबास कैलाली र कञ्चनपुरमा रहेको छ ।
प्रतिक्रिया