सुदूरपश्चिममा भएका ठूला अपराधका घटनाको अनुसन्धानमा प्रहरी असफल हुँदै

  सोमबार १२, कार्तिक २०८१ १५:५५

घटना १ :

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्त १० साउन २०७५ मा साथीको घरबाट बेपत्ता भइन् । भोलिपल्ट घरभन्दा एक किलोमिटर टाढा उखुबारीमा उनको शव फेला पर्‍यो । निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आयो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गर्‍यो । स्थानीयले विष्ट दोषी नभएको भन्दै आन्दोलन गरे । डीएनए ‘म्याच’ नभएपछि विष्ट छुटे । नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले खेप्यो ।

निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर थप एक युवकको समेत मृत्यु भयो । अपराध अनुसन्धानमा गम्भीर लापर्वाही गरेको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहितका प्रहरी बर्खास्त भए । विभागीय कारबाहीमार्फत बर्खास्त भएका एसपी विष्टसहितका प्रहरी अधिकारीले अदालतबाट सफाइ पाइसकेका छन् ।

सीआईबीले दुईरदुई महिनाको अन्तरमा विभिन्न टोली पठाए पनि अभियुक्त भने पत्ता लगाउन सकेको छैन ।

यता प्रहरी भने निर्मला हत्याकाण्डको अनुसन्धान जारी रहेको जनाउँछ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार निर्मला हत्या घटनाको अनुसन्धानमा अहिले पनि प्रहरी टोली सक्रिय छन् । प्रदेश र जिल्लाका छुट्टाछुट्टै टोली खटाइएको छ भने सीआईबीको टोली पनि लागेको छ । उक्त प्रकरणमा हालसम्म साढे ६ सयभन्दा बढी व्यक्तिमाथि अनुसन्धान भएको बताइएको छ । १ सय ६४ जनाको डीएनए परीक्षण गरेरै अनुसन्धान गरिएको छ ।

घटना २:

२५ मंसिर २०६९ को राति १२ बजेको थियो । धनगढी उपमहानगरपालिका– ४, उत्तरबेहडीका २६ वर्षीय ओमप्रकाश पन्त मलाई मार्न आउँदै छन् भन्दै घरबाहिर निस्के । उनकी बहिनीले प्रहरीको कन्ट्रोल नम्बरमा फोन गर्दा ड्युटीमा रहेको प्रहरीले उल्टै जिस्क्याए ।

त्यसको भोलिपल्ट २६ गते उत्तरबेहडीमा ओमप्रकाश धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा मृत फेला परे । घटनाको १२ वर्ष पुगेको छ । तर, प्रहरीले अहिलेसम्म घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन । ‘अहिले पनि प्रहरी कार्यालय धाउँदा अनुसन्धान जारी छ भन्दै प्रहरी अधिकारीले जवाफ दिने गरेका छन्,’ ओमप्रकाशका बुवा श्रीकृष्ण पन्तले भने, ‘तर, अहिलेसम्म पनि दोषी निर्वाध रूपमा घुमिरहेका हुन्छन् ।’

घटना ३ :

२६ मंसिर २०७० मा कञ्चनपुरको महेन्द्रनगरस्थित नबिल बैंकको शाखाबाट नेपाल राष्ट्र बैंक धनगढीमा रकम जम्मा गर्न बैंकको एउटा टोली धनगढीतर्फ आइरहेको थियो । बैंकका कर्मचारीको टोलीसँग थियो, दुई करोड ३० लाख ६० हजार रुपैयाँ र २ सय अमेरिकी डलर ।

उक्त रकम पूर्वपश्चिम राजमार्गस्थित कैलालीको मालाखेती जंगलमा दिउँसै लुटिएको थियो । हतियारसहित ट्राफिक प्रहरीको भेषमा रहेका लुटेरा समूहले पैसा लिएर आएका बैंकका कर्मचारी सवार म १ च १४६ नम्बरको जिपलाई नियन्त्रणमा लिएर रकम लुटेका थिए । जिपमा चालक वीरबहादुर चन्द, बैंकका कर्मचारी सत्यमान तामाङ, गार्ड गंगादत्त भट्ट र अडिटर शुक्रराज भट्टराई थिए । चोरीको ११ वर्षसम्म लुटपाटको घटना रहस्यमै छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्ट घटनाको फाइल अहिलेसम्म पनि बन्द नभएको बताउँछन् ।

घटना ४ :

२५ असोज २०८१ मा बैतडीको पञ्चेश्वर गाउँपालिका– २ को महाकाली प्रहरी चौकीका इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीमाथि कुटपिट भयो । जोशीलाई दाम्लोले बाँधेर स्थानीय बासिन्दाले कुटपिट गरेका थिए । उनीमाथि डिम्बरकी साढे १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको आरोप थियो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार ती किशोरी २५ गते बिहान ५ बजेको समयमा घरबाट निस्केकी थिइन् । ‘एकाबिहानै पानी ल्याउँछु भन्दै ती किशोरी घरबाट निस्केकी थिइन्,’ प्रहरी निरीक्षक ढुंगानाले भने, ‘सोही समयदेखि ती किशोरी बेपत्ता भएको परिवारका सदस्यले बताउँदै आएका छन् ।’

सोही दिन दिउँसो हवल्दार जोशीलाई नियन्त्रणमा लिएर स्थानीय बासिन्दाले कुटपिट गरेका हुन् । किशोरी बेपत्ता भएको चार दिनपछि उनका बुवाले किटानी जाहेरी दिएको प्रहरी निरीक्षक ढुंगानाको भनाइ छ ।

‘२५ असोज शुक्रबारका दिन बिहान बेपत्ता भएकी किशोरीका आफन्तले मंगलबार जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरी हवल्दार जोशीले नै बेपत्ता पारेको भन्दै किटानी जाहेरी दिएका थिए,’ इन्स्पेक्टर जोशीले भने, ‘अहिले हवल्दार जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छौँ ।’

उनका अनुसार किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता पारेको पीडित परिवारको आरोप छ । प्रहरी हवल्दार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्वीरसहितको विवरणसमेत किशोरीका आफन्तले प्रहरीसमक्ष बुझाएका छन् ।

यता प्रहरीको नियन्त्रणमा रहेका हवल्दार जोशीले भने किशोरीलाई आफूले बेपत्ता नपारेको बयान दिएका छन् । यद्यपि, उनले २५ असोजको बिहान पानी ल्याउन जाँदा ती किशोरीसँग भेट भएको स्वीकार गरेका छन् । किशोरी बेपत्ता भएको सोमबार १८ दिन बितेको छ । तर, अहिलेसम्म किशोरीको अवस्था अज्ञात छ । अहिले महाकाली चौकीका प्रहरी वडा नम्बर ३ को कुलाउमा बस्न थालेका छन् ।

घटना ५ :

कञ्चनपुरको लालझाडी गाउँपालिका– १, बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला लामो समयदेखि नास्ता पसल चलाउँदै आएका थिए । गाउँको घरभन्दा झण्डै डेढ किलोमिटर टाढा राखेका थिए, उनीहरूले मदिरासहितको नास्ता पसल । गाउँको घरमा परिवारका सदस्य बस्दै आएका थिए भने पसल रहेको घरमा बडायक दम्पती मात्रै बस्ने गरेका थिए ।

पसल रहेको घर पनि बडायक दम्पतीकै हो । तर, शुक्रबार बिहान बडायक दम्पती मृत फेला परे । रमेशको शव आँगनमा भेटियो भने उनकी श्रीमती कमलाको शव नजिकै बरन्डामा भेटिएको थियो । कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य अवस्थामा भेटिएको थियो ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमेश जोशी र प्रदेश प्रहरीबाट तालिमप्राप्त कुकुरसहितको टोली खटियो । तर, अहिलेसम्म घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसीले अनुसन्धान नतिजानजिक पुगेको दाबी गर्दै आएका छन् । ‘शुक्रबार बिहानैदेखि अनुसन्धानमा खटिएको टोलीले तीन दर्जनभन्दा बढी व्यक्तिसँग सोधपुछ गरिसकेको छ,’ उनले भने, ‘हाम्रो अनुसन्धानले छिट्टै नतिजा दिन्छ । हामी घटनामा संलग्नको नजिक पुगिसकेका छौँ ।’

.....

यी घटना केही उदाहरण मात्रै हुन् । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भएका गम्भीर प्रकृति र ठूला अपराधका घटनाको अनुसन्धानमा प्रहरी असफल हुँदै आएको छ । ‘घटना भएको केही दिनमै अपराध अनुसन्धानमार्फत नतिजा आयो भने सहज हुन्छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एक अधिकारीले भने, ‘वर्षौंसम्म नतिजा आएन भने समस्या हुन्छ । नयाँ आउने प्रहरी अधिकारीले पुरानो घटनाबारे चासो लिएको पाइँदैन ।’

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज कार्की भने अनुसन्धानको कुनै समयसीमा नहुने बताउँछन् । ‘घटनास्थलमा सबैभन्दा पहिले पुगेको अनुसन्धान अधिकारीको गतिविधिले धेरै फरक पार्ने गरेको छ,’ उनले भने, ‘घटनास्थलमा भएका प्रमाण संकलनमा अनुसन्धान अधिकारी जति गम्भीर हुन्छ, त्यति नै सहज नतिजा दिन पनि हुन्छ । तर, केही घटनाको अनुसन्धानले नतिजा दशकपछि पनि दिने गरेको छ । त्यसैले निश्चित समयभित्रै अनुसन्धान सकिन्छ भन्ने हुँदैन ।’

clock सोमबार १२, कार्तिक २०८१ १५:५५

प्रतिक्रिया