बैतडीको पन्चेश्वरमा प्रहरीबाटै असुरक्षा बढेको भन्दै चौकी सार्न स्थानीयको माग

  मङ्गलबार ०६, कार्तिक २०८१ १५:२२

धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिका– २ मा एउटा सुन्दर गाउँ छ– डिम्बर । महाकाली नदीको किनारमा सोही गाउँका स्थानीयको खेत छ । खेतको छेउमा केही उच्च भागमा छ, डिम्बर गाउँ । उक्त गाउँमा न नेपाली फोन लाग्छ, न त यातायातको सुविधा नै छ । स्थानीय बासिन्दाले भारतीय नम्बर बोक्नुपर्ने बाध्यता छ । सोही गाउँमा २०५६र५७ सालमा राखिएको थियो, प्रहरी चौकी महाकाली । तर, अहिले त्यहाँ कार्यरत प्रहरीका कारण हिंसा र असुरक्षा बढेको भन्दै उक्त चौकी सार्न माग भइरहको छ । पञ्चेश्वर गाउँपालिका– २ का अध्यक्ष वीरबहादुर चन्दका अनुसार डिम्बरका स्थानीय बासिन्दाले प्रहरी चौकी महाकालीलाई अन्यत्रै सार्न माग गर्दै लिखित रूपमा प्रशासनलाई आग्रह गरेका छन् । ‘२५ असोजमा १७ वर्षीया किशोरी बेपत्ता भएपछि स्थानीय बासिन्दाले चौकी सार्ने माग अगाडि सारेका छन्,’ वडाध्यक्ष चन्दले भने, ‘ती किशोरीलाई महाकाली प्रहरी चौकीका इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीले बेपत्ता गरेको आरोप लागेको छ । प्रहरीकै कारण गाउँमा असुरक्षा बढेको स्थानीय बासिन्दाको बुझाइ छ ।’


पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दका अनुसार १७ वर्षीया किशोरी बेपत्ताको घटना एउटा प्रतिनिधि घटना मात्रै हो । ‘उक्त गाउँमा प्रहरीबाटै महिला र बालबालिका हिंसा वर्षौंदेखि भइरहेको छ,’ पालिका अध्यक्ष चन्दले भने, ‘त्यो प्रहरी चौकीको छेउमै पानी भर्ने धारा छ । सोही कारणले महिलाहरूको आवागमन प्रहरी चौकी क्षेत्रमा भइरहेको हुन्छ । त्यहाँ कार्यरत प्रहरीले विगतदेखि नै महिलामाथि हिंसा गर्दै आएका छन् ।’ अध्यक्ष चन्दका अनुसार उक्त प्रहरी चौकी सार्नका लागि यसअघि पनि पटकपटक आग्रह गरिएको थियो । ‘त्यो ठाउँमा न फोन लाग्छ, न त यातायातको सुविधा नै पुगेको छ,’ उनले भने, ‘त्यसैले हामीले वडा कार्यालय भएको क्षेत्रमा चौकी राख्न पटकपटक आग्रह गरेका थियौँ । तर, बेवास्ता गरिएको छ । अहिले प्रहरीबाटै डिम्बरका स्थानीयले असुरक्षित महसुस गरिरहेका छन् ।’


प्रहरी चौकी सार्न जनप्रतिनिधिसहित ६४ जनाले हस्ताक्षर गरेर प्रशासनमा बुझाएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष चन्दले बताए । बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले पनि जनप्रतिनिधि र स्थानीयबाट प्रहरी चौकी सार्ने माग लिखित रूपमै आएको बताए । ‘२०५५र५६ सालमा स्थापना भएको चौकी हो,’ उनले भने, ‘जिल्लास्तरबाट उक्त चौकी सार्न सकिने अवस्था छैन । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णय आवश्यक हुन्छ । तर, सोही वडाको पायक पर्ने क्षेत्रमा राख्नका लागि भने छलफल भइरहेको छ ।’


के हो किशोरी बेपत्ता प्रकरण ?

दसैँको अघिल्लो दिन २५ असोजमा महाकाली प्रहरी चौकीका इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीमाथि कुटपिट भयो । जोशीलाई दाम्लोले बाँधेर स्थानीय बासिन्दाले कुटपिट गरेका थिए । बैतडी प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका हवल्दार जोशीको जिल्ला अस्पतालमा उपचार नै गरिएको थियो । उनीमाथि डिम्बरकी साढे १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको आरोप थियो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार ती किशोरी २५ गते बिहान ५ बजेको समयमा घरबाट निस्केकी थिइन् । ‘एकाबिहानै पानी ल्याउँछु भन्दै ती किशोरी घरबाट निस्केकी थिइन्,’ प्रहरी निरीक्षक ढुंगानाले भने, ‘सोही समयदेखि ती किशोरी बेपत्ता भएको परिवारका सदस्यले बताउँदै आएका छन् ।’

सोही दिन दिउँसो हवल्दार जोशीलाई नियन्त्रणमा लिएर स्थानीय बासिन्दाले कुटपिट गरेका हुन् । किशोरी बेपत्ता भएको चार दिनपछि उनका बुवाले किटानी जाहेरी दिएको प्रहरी निरीक्षक ढुंगानाको भनाइ छ । ‘शुक्रबार बिहान बेपत्ता भएकी किशोरीका आफन्तले मंगलबार जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरी हवल्दार जोशीले नै बेपत्ता पारेको भन्दै किटानी जाहेरी दिएका थिए,’ इन्सपेक्टर जोशीले भने, ‘अहिले हवल्दार जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छौँ ।’ उनका अनुसार किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता पारेको पीडित परिवारको आरोप छ । प्रहरी हवल्दार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्वीरसहितको विवरणसमेत किशोरीका आफन्तले प्रहरीसमक्ष बुझाएका छन् ।

यता प्रहरीको नियन्त्रणमा रहेका हवल्दार जोशीले भने किशोरीलाई आफूले बेपत्ता नपारेको बयान दिएका छन् । ‘२५ गते बिहान पानी ल्याउन जाँदा ती किशोरीसँग मेरो भेट भएको थियो,’ प्रहरी निरीक्षक ढुंगानाका अनुसार हवल्दार जोशीले प्रहरीको सोधपुछका क्रममा भनेका छन्, ‘ती किशोरीले आफूँहरूको सम्बन्धका विषयमा परिवारलाई जानकारी भइसकेको र सोही कारणले तनाव भएको बताएकी थिइन् । मैले आफू विवाहित भएको र व्यवस्थापन गर्न केही दिन समय लाग्ने बताएको थिए । त्यसपछि ती किशोरी पानी ल्याउन गएकी हुन् । मेरो भेट भएको छैन ।’ किशोरी बेपत्तामा प्रहरीको संलग्नता रहेको स्थानीयले आरोप लगाएपछि प्रहरी चौकीमा कार्यरत सबै प्रहरी फेरिएका छन् । त्यहाँ प्रहरी सहायक निरीक्षक सुरतबहादुर साउदको नेतृत्वमा नयाँ टोली खटाइएको छ ।

clock मङ्गलबार ०६, कार्तिक २०८१ १५:२२

प्रतिक्रिया