कैलालीको धनगढीमा ४७ वटा सार्वजनिक चौताराहरू रङ्गीए

  मङ्गलबार ०६, कार्तिक २०८१ १०:१४

धनगढी । कैलालीको धनगढीमा सार्वजनिक चौताराहरूमा रङ लगाउन थालिएको छ। धनगढी उपमहानगरपालिकाले १९ वटै वडाका सार्वजनिक चौतारामा रङ लगाउन थालेको हो। नगर प्रहरी बलले सार्वजनिक चौतारामा रङरोगन लगाउने काम गर्दै आएको छ।

हालसम्म ४७ वटा चौतारामा रङ लगाईसकेको नगर प्रहरी बलले तिहारसम्म नगरका सबै चौतारा रङ्ग्याउने दाबी गरेको छ। सफा धनगढी, सुन्दर धनगढी अभियान अन्तर्गत सार्वजनिक चौताराहरूलाई बस्न र हेर्न लायक बनाउन थालिएको नगर प्रहरी प्रमुख धर्मानन्द जोशीले बताए।

‘उपमहानगरभित्र कार्यरत नगर प्रहरीले सोमवारसम्म विभिन्न वडाका गरेर ४७ वटा सार्वजनिक चौतारामा रङरोगन गरेको छ। तिहारसम्म १९ वटै वडाका सम्पूर्ण चौतारामा रङरोगन गरिसक्ने गरी काम भइरहेको छ,’ नगर प्रहरी प्रमुख जोशीले भने।

उपमहानगरपालिकाले वडा नम्बर १ मा एक, वडा नम्बर २ मा ५, वडा नम्बर ३ मा ६ वटा चौतारा रङ्ग्याएको छ। यस्तै, ४ नम्बर वडामा मुख्यमन्त्री कार्यालय अगाडिका चौतारासहित थप ३ चौतारा, वडा नम्बर ५ मा ४ वटा, वडा नम्बर ६ र ७ मा ३÷३ वटा चौतारा आकर्षक बनाइएको छ।

उपमहानगरले ८ नम्बर वडामा २, ९, १० र ११ नम्बरमा थप १र१, चौतारा, वडा नम्बर १३ मा ३ वटा, वडा नम्बर १४, १५, १६, १७ र १८ मा १र१ वटा तथा वडा नम्बर १९ मा तीनवटा सार्वजनिक चौताराहरूमा रङरोगन लगाउने काम पूरा भएको नगर प्रहरी प्रमुख जोशीले बताए।

‘नगर प्रहरीले नगर क्षेत्रका सार्वजनिक चौतारा खोज्दै रङरोगन गर्ने र सर्वसाधारणले बस्न लायक बनाउन लागेको हो,’ उनले भने, ‘उपमहानगरले सार्वजनिक चौतारा र त्यसमा रहेका रुख बिरुवाहरूको समेत संरक्षण गर्ने गरी रङरोगन गर्ने काम भइरहेको छ।’

clock मङ्गलबार ०६, कार्तिक २०८१ १०:१४

प्रतिक्रिया