कैलालीमा प्रहरीको सेटिङमा हुने जुवाघरमा सिडिओको छापा

  मङ्गलबार ०६, कार्तिक २०८१ ०६:३६

धनगढी । धनगढीमा वर्षैभरि जुवा खेलाउने केही पेशेवर जुवाडे ठाउँ छन्। लाखौँका जुवा खेलाइने अड्डामा पेशेवर जुवाडे बाह्रै महिना धाउने गर्छन्। जो प्रहरीकै संरक्षणमा वर्षैभरि जुवा खेलाउँदै आएको आरोप प्रहरीलार्ई बेला बेला लाग्ने गरेको छ।

दसैँ तिहारको वेला जुवा खेल्नेलाई प्रहरीले समातेर आफूले कडाइ गरेको देखाए पनि यस्ता पेशेवर अड्डालाई प्रहरीले केही नगरेको स्थानीयको भनाई छ। आइतबार राति भने प्रहरीकै संरक्षणमा वर्षैभरी जुवा हुने भनिएको पेशेवर जुवाडेकोमा नाटकीय शैलीमा छापा हान्ने काम भयो।

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र आइतबार मध्यराति जिल्ला सुरक्षा निकायका प्रमुख सहितको टोली लगेर धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा जुवा भइरहेको ठाउँमा पुगेर छापा हानेका हुन।

सेटिङमा जुवा हुने घरमा यसरी छापा हानियो 

धनगढी उपमहानगरपालिका वडा नं ५ हसनपुर प्रकाश भाटको घरमा लाखौँको जुवा हुने गरेको र प्रहरीले छापा नहान्ने गरेको जानकारी कैलालीका प्रजिअ मिश्रले पाउँछन्। प्रमुख जिल्ला अधिकारी निकट श्रोतका अनुसार प्रजिअले यो कुरालाई गम्भीर रुपमा लिन्छन्। मध्यरातमै प्रजिअ मिश्रले कैलाली जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरक्षक पदम बहादुर बिष्ट, सशस्त्र प्रहरीका प्रहरी उपरक्षक दलबहादुर पाण्डे र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखलाई जिल्ला प्रशासनमा बोलाए।


श्रोतका अनुसार के का लागी बोलाएको भनेर नखुलाएका प्रजिअ मिश्रले सबै जना जम्मा भएपछि मात्र ठूलो जुवा भइरहेको ठाउँमा छापा हान्नुपर्ने जानकारी दिए। स्थान पत्ता लगाएर प्रजिअ मिश्र र तीन वटा सुरक्षा निकायका प्रमुख सहित टोली जुवा हुने गरेको भाटको घरमा पुग्यो।

जुवा भइरहेको घरमा प्रजिअ सहितको टोली पुगेपछि मात्र वडा प्रहरी कार्यालय धनगढीको टोली बोलाएर जुवाडेलाई समातेको थियो। मध्यरातमा सुरक्षा निकायको प्रमुख सहितको टोली लगेर प्रमुख जिल्ला अधिकारीले आफै गएर वर्षैभरि जुवा हुने ठाउँमा छापा मारेको विषयले अहिले खुबै चर्चा पाइरहेको छ।

‘प्रहरीकै संरक्षणमा त्यहाँ बाह्रै महिना जुवा हुने गर्थ्यो, त्यो नामुद जुवाडेको जुवा खेल्ने ठाउँ हो’ पेशेवर जुवाडेको बारेमा जानकार स्थानीय एक युवकले भने,‘सिडिओ आफै पुगेकाले मात्र जुवाडे समातिएका हुन, नत्र प्रहरी टोली पुग्न अघि सूचना चुहाएर जुवाडे भाग्ने अवस्था भइसक्थ्यो’। कैलालीमा सेटिङ मिलाएर बाह्रौँ महिना जुवा खेलाउने पेशेवर जुवाडे कयौँ जना रहेको उनी बताउँछन्। ‘दसैँ तिहारमा सर्वसाधारणले जुवा तास खेल्दा प्रहरीले छापा हानेर समात्ने हो, तर बाह्रौँ महिना जुवा हुने ठाउँमा प्रहरीकै संरक्षण हुन्छ’उनले भने। प्रहरीका प्रमुखहरूले खटाउने गरेका घुमुवा प्रहरी नै जुवा खेलाउने ठाउँमा भेटिने अर्का एक युवाले बताए।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी दर्शन खड्काले वडा प्रहरी कार्यालय बाट गएको प्रहरीले टोलीले प्रकाश भाटको घरमा जुवा खेलिरहेको अवस्थामा आइतबार राती साढे १२ बजे ११ जनालाई पक्राउ गरेको बताए। १० गड्डी तास र १ लाख ५३ हजार ३ सय ५० नगद बरामद गरेको उनले बताए। प्रहरीले विस्तृत जानकारी दिन भने आनाकानी गरेको छ।

कैलालीमा बाह्रै महिना जुवा भइरहने गर्छ। महिनावारी बुझेर जुवा खेलाउन दिने गरेको प्रहरी माथि आरोप लाग्दै आएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी मिश्रले गलत र गैर कानुनी क्रियाकलापमा संलग्न जोकोही भएपनि कडा कारबाही गरिने बताएका छन्। जुवा तास लगायत गलत क्रियाकलाप हुने ठाउँको सूचना पाएमा कारबाहीका लागी कुनै कसर बाकी नराख्ने उनको भनाई छ।

प्रहरीको संलग्नता पाइए कारबाही हुन्छ –डिआइजी केसी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले जुवा तास हुन नदिन प्रहरीले कडाइ गरेको बताए। जुवा तास संरक्षणमा कोही प्रहरीको संलग्नता भएको पाइए कारबाही गरिने बताए।

‘जुवा तास खेल्ने र खेलाउनेलाई प्रहरीले कारबाही गर्ने गरेको छ, यदि जुवातासमा कुनै प्रहरीको संलग्नता रहेको पाइन्छ भने कारबाही गरिन्छ’उनले भने। सुदूरपश्चिम भरी दसैँ यता करिब १ सय जना जुवा तास खेल्ने प्रहरीले पक्राउ गरिसकेको उनले बताए। नागरिक न्युज

clock मङ्गलबार ०६, कार्तिक २०८१ ०६:३६

प्रतिक्रिया