सुदूरपश्चिममा एक हजारभन्दा बढीलाई ‘स्क्रब टाइफस’

  सोमबार ०५, कार्तिक २०८१ ११:५०

धनगढी । सुदूरपश्चिम प्रदेशमा यस वर्ष हालसम्म एक हजार १३१ जनालाई ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार जनवरीदेखि अगस्तसम्म सो सङ्ख्यामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको हो । पछिल्ला दुई महिनामा मात्रै कुल सङ्क्रमितको आधाभन्दा बढी व्यक्तिलाई ‘स्क्रब टाइफस’ भएको निर्देशनालयले जनाएको छ । अगस्तमा सबैभन्दा बढी ३७१ जनालाई यो रोग लागेको थियो ।

निर्देशनालयले दिएको जानकारी अनुसार डडेलधुरामा सबैभन्दा बढी ३४७ जना, अछाममा २४४, बैतडीमा १३३, कैलालीमा १२०, दार्चुलामा १०१ जनालाई ‘स्क्रब टाइफस’ सङ्क्रमण भएको छ । त्यस्तै डोटीमा ७४, बाजुरामा ५६, कञ्चनपुरमा ३४ र बझाङमा २२ जनालाई ‘स्क्रब टाइफस’ भएको छ । जङ्गली मुसामा हुने किर्ना ९माइट० को टोकाइबाट मान्छेलाई ‘स्क्रब टाइफस’ लाग्ने गरेको जनाइएको छ ।

मुसालाई टोकेर किर्नाले ‘स्क्रब टाइफस’ को ब्याक्टेरिया लिने र मान्छेलाई टोकेर सो ब्याक्टेरिया सार्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । घरमा हुने मुसाभन्दा पनि जङ्गलमा पाइने मुसामा रहेको किर्नाले टोकेमा ‘स्क्रब टाइफस’ रोग लाग्ने गरेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताए । ‘स्क्रब टाइफस’ बाट बिरामीको अकालमै मृत्यु हुन नदिनका लागि समयमै रोगको पहिचान र निदान आवश्यक रहेको जनाइएको छ ।

यो रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने, पाचन अङ्गमा गडबडी तथा शरीरमा रातो बिमिरा आउने लक्षण देखिने गर्छ । ‘स्क्रब टाइफस’ लागेमा बिरामीको समयमै उपचार नभए कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायतका अङ्गमा सङ्क्रमण फैलिने र बिरामीको मृत्युसमेत हुने गरेको जनाइएको छ तर समयमै उपचार भएमा एक हप्तामै बिरामी निको हुने गरेको जोशीले उल्लेख गरे ।

‘स्क्रब टाइफस’ बाट बच्न रोगको ब्याक्टेरिया सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै सबैभन्दा उत्तम उपाय रहेको बताइएको छ । यसै गरी घरवरिपरि सफा राख्ने, जङ्गल, झाडीमा सकेसम्म नजाने, जानै परे शरीर ढाक्ने गरी कपडा, हातमा पन्जा र खुट्टामा लामो बुट लगाउन आवश्यक रहेको जनाइएको छ ।

clock सोमबार ०५, कार्तिक २०८१ ११:५०

प्रतिक्रिया