धनगढीले गर्‍यो चार छिमेकी पालिकासँग निःशुल्क शव चिस्यान सेवा दिन गर्यो सम्झौता

  शुक्रबार ०२, कार्तिक २०८१ ०६:५२

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले छिमेकी स्थानीय तहमा समेत शव चिस्यान सेवा दिने सम्झौता गरेको छ। उपमहानगरपालिकाले धनगढीसँग सिमाना जोडिएका गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका तथा कञ्चनपुरको पनर्वास र कृष्णपुर नगरपालिकासँग सम्झौता गरेको हो।

उपमहानगरपालिकासहित छिमेकी पाँच पालिकामा निःशुल्क शव चिस्यान सेवा धनगढीले प्रदान गर्दै आएको थियो। गोदावरी नगरपालिका बाहेकका चार स्थानीय तहहरूसँग विहिबार सम्झौता गरिएको छ। २०८२ असार मसान्तसम्म छिमेकी चार पालिकाका नागरिकको मृत्युपछि शव सुरक्षित राख्नु परेमा निःशुल्क सेवा प्रदान गरिने भएको छ।

उपमहानगरपालिकाको नगर प्रहरीले शव चिस्याज यत्र मृतकको घरमा लगेर जडान गर्नेछ। मृतकको अन्तिम संस्कार गरेपछि यन्त्र फिर्ता ल्याइने छ। छिमेकी स्थानीय तहमा समेत सेवा प्रदान गर्न उपमहानगरले शव चिस्यान यन्त्र थप गरेको थियो। शव चिस्यान यन्त्रको सङ्ख्या पाँच पुगेको छ। अब गोदावरी, गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकामा बसोबास गर्ने नागरिकले समेत शव चिस्यान सेवा पाउने नगरप्रमुख गोपाल हमालको सचिवालयले बताएको छ।

विदेशमा छोराछोरी र आफन्त भएको अवस्थामा उनीहरू घर नपुग्दासम्म मृत शरीरलाई सुरक्षित राख्न शव चिस्यान यन्त्रको प्रयोग हुने गरेको छ। उपमहानगरपालिकाले शव चिस्यान सेवा नगर प्रहरीमार्फत दिँदै आएको छ। नगर प्रहरीले शव चिस्यानका लागि फोन आउनासाथ यन्त्र घरमै पुगाइ शवलाई राखेर आउने गरेको छ। त्यसपछि अन्तिम संस्कारका लागि लैजानु पूर्व नगर प्रहरीले शव झिकेर यन्त्र उपमहानगरपालिका ल्याउने व्यवस्था मिलाइएको छ।

clock शुक्रबार ०२, कार्तिक २०८१ ०६:५२

प्रतिक्रिया