स्ववियु निर्वाचनः बैतडीमा नेविसंघको क्लिन स्वीप

  बिहिबार ०९, चैत २०७९ १३:२०     विश्वास खबर

बैतडी । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय (सुप) अन्तर्गत बुधबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ । सोही बैतडीका ३ वटै क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले क्लिन स्वीप गरेको हो ।

पाटन बहुमुखी क्याम्पसमा नेविसंघबाट सभापतिकी उम्मेदवार भागरथी भट्ट विजयी हुनुभएको छ । भट्टले ८९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी अनेरास्ववियुका निरन्जन पन्तले ७४ मत प्राप्त गरेर पराजित हुनुभएको हो । त्यस्तै स्वतन्त्र उम्मेदवार अमरराज भट्टले ५० मत प्राप्त गर्नुभएको छ ।

सचिवमा एकीकृत स्वतन्त्र विद्यार्थी युनियनका भोजराज अवस्थी ८६ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अनेरास्ववियु क्रान्तिकारीका रामदत्त भट्टराईले ६३ मत प्राप्त गरेर पराजित हुनुभएको छ । कोषाध्यक्षमा अनेरास्ववियुका दिलेन्द्रसिंह ठगुन्ना ८३ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अखिल क्रान्तिकारीकी भुवनेश्वरी कठायतले ७४ मत प्राप्त गरेर पराजित हुनुभएको छ ।

सदस्यहरुमा अनेरास्ववियुका रोशन पाण्डे १ सय १ मत, दिपकसिंह ऐर ९६ मत र चन्द्रावती भट्ट ८७ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै नेविसंघकी मीना भट्ट ९५ मत, कल्पना विक ८८ मत र बेबिना जोशी ९३ मत प्राप्त सदस्य पदमा विजयी भएका छन् ।

उता सदरमुकामस्थित जगन्नाथ बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी भएको छ । सभापतिमा नेविसंघका धनी भट्ट १२० मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अनेरास्ववियका योगेश मौनीले ३६ मत प्राप्त गरेर पराजित हुनुभएको छ ।

सचिवमा नेविसंघकै किशोरराज पन्त १ सय १८ मत र कोषाध्यक्षमा ममता भट्ट १ सय १० मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै, सदस्यमा पनि नेविसंघकै गिता बोहरा, ललिता चन्द, र बिन्दु कुमारी बडु विजयी भएका हुन् ।

त्यस्तै, मणिलेक क्याम्पस मेलौलीमा स्ववियु सभापतीमा नेविसंघको प्यानलै विजयी भएको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनलाई पराजित गर्दै नेविसंघको प्यानलै विजयी भएको हो । 

सभापतिमा नेविसंघका नवराज भट्टले ७० मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनका साझा उम्मेदवार धनीदत्त भट्टले ४४ मत मात्रै प्राप्त गरेका थिए ।

सचिवमा नेवि संघका निरज भट्ट वियजी हुनुभएको छ । त्यस्तै, कोषाध्यक्षमा पनि नेविसंघकै सुशीला नेगी विजयी हुनु भएको हो । त्यस्तै, सदस्यमा नेविसंघकै पूजा चन्द, दिनेश सिंह साउँद, सुनिता भट्ट र मनोजदत्त ओझा विजयी भएका छन् । नेविसंघका अध्यक्ष कपिल केसीले यसलाई जिल्लामा नेविसंघको ऐतिहासिक जित भएको बताउनुभएको छ ।

clock बिहिबार ०९, चैत २०७९ १३:२०     विश्वास खबर

प्रतिक्रिया