दसैं लागेपछि धनगढी बजार सुनसान (फोटो फिचर)

  शुक्रबार २५, असोज २०८१ १४:१५

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढी बजार सुनसान बनेको छ । जागिर, व्यापार, विभिन्न काम लगायतको सिलसिलामा यहाँ बस्दैआएका मानिस दसैं मनाउन आफ्नो गाउँघरतर्फ गएपछि धनगढी बजार सुनसान भएको हो । 

अरु बेला सडकमा अटोरिक्सा र सवारी साधनको बाक्लो चाप देखिने धनगढी बजारमा आज अटो पनि फाटफुट रुपमा मात्रै चलेको छ । पसलहरु पनि फाटफुट मात्रै खुलेका छन् । धनगढी उपमहानगरपालिकाका अनुसार धनगढीमा दुई लाख चार हजार ७८८ मानिस स्थायी रुपमा बस्दैआएका छन् । 

त्यसैगरी, विभिन्न रोजगारीसहित कामको सिलसिलामा धेरै मानिस बस्ने गर्दछन् । स्थायी र अस्थायी रुपमा यहाँ बस्दैआएका धेरैजसो मानिस दसैं मनाउन यतिबेला आ–आफ्नो गाउँघरतिर गएका छन् । 

मान्छेको निकै भीड रहने सेती प्रादेशिक अस्पताल पनि सुनसान छ । अस्पतालका धेरैजसो शøया खाली भएका छन् । दसैंमा आज र भोलि गरी दुई दिनसम्म धनगढी बजार सुनसान रहने गरेको फलफूल व्यापारी अशोक चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बजारमा थोरै मान्छे हिडडुल गरेको देखिएको छ । अब दुई दिनसम्म यस्तै सुनसान रहन्छ ।”  धनगढीमा सुदूरपश्चिमको पहाडी जिल्ला र कैलाली, कञ्चनपुरको ग्रामीण क्षेत्रका मानिस बस्ने गरेका छन् । चाडपर्व मनाउन धेरैजसो मानिस आ–आफ्नो गाउँघरतर्फ फर्केका छन् । 

clock शुक्रबार २५, असोज २०८१ १४:१५

प्रतिक्रिया