कैलालीको भजनीमा बाढी र डुबानका बच्न सुरक्षित घर बनेपछि निर्धक्क

  बिहिबार २०, भदौ २०८१ ०९:५७

धनगढी । विगतमा बाढी र डुबानका कारण कैयौँ पटक विस्थापित हुनु परेका पुलियापुरवासी अहिले निर्धक्कले घरमा बस्न पाएका छन् । अग्लो सुरक्षित घर निर्माण भएपछि बाढीको बेला उनीहरू निर्धक्कले घरमै बस्न पाएका हुन् । अग्ला घर बनेपछि कैलालीको अति प्रभावित क्षेत्र भजनी नगरपालिका–५ को पुलियापुरवासीले ज्यान जोगाउन हुलाकी राजमार्गमा भाग्नुपर्ने बाध्यता टरेको छ ।

विगत वर्षमा बाढी नआएको बेला पनि पानी जमेर उनीहरू घरमा बस्न सक्दैनथे । बाढी आएपछि सास्ती झनै थपिने गथ्र्यो । मनसुन अवधिभरि उनीहरूको बास हुलाकी राजमार्गमा त्रिपालमुनि हुने गरेको थियो । अग्लो घर निर्माणले अब आफूहरूले डुबान समस्याबाट छुटकारा पाएको कोपिला टमटाले बताए । विगतमा बाढी, डुबानका कारण हामीले पाएको दुःख भनिसाध्य छैन,” उनले भने “बाढी आउँदा अब त्यस्तो दुःख भोग्नु परेको छैन । अरूतिर डुबान भए पनि घर डुब्दैन ।”

गत वर्षको बर्खामा पुलियापुरका पूरै स्थानीयले चार महिना हुलाकी सडकमा बिताएका थिए । सो गाउँमा विपन्न दलित परिवारको मात्रै बसोबास छ । बाढी, डुबान समस्याले उनीहरू आफ्नै घरमा बस्न नसक्ने अवस्था सिर्जना भएपछि सामाजिक संस्थाको सहयोगमा भजनी नगरपालिकाले अग्लो सुरक्षित आवास निर्माण गरिदिएको हो । 

९५ लाख ४६ हजार रुपियाँ लगानीमा प्रभावित १६ परिवारका लागि सुरक्षित आवास निर्माण गरेर उनीहरूलाई हस्तान्तरण गरिएको छ । यसमा भजनी नगरपालिकाको ४० लाख, लुथरन विश्व फेडरेसनरदिगो विकास समाजको ३२ लाख रुपियाँ अनुदान सहयोग रहेको छ । त्यस्तै सम्बन्धित परिवारले २३ लाख ४६ हजार रुपियाँ बराबरको श्रमदान गरेका छन् ।

टिनको छानाले छाइएको दुईकोठे अग्लो घरमा अहिलेसम्म पानी नपसेको जनाइएको छ । आसपासको बस्ती डुबानमा परेको बेला पुलियापुरवासी घरमै सुरक्षित रहने गरेका छन् । अग्ला सुरक्षित घर निर्माणले पुलियापुरवासीले डुबान समस्याबाट छुटकारा पाएको वडाध्यक्ष केशवबहादुर बुढाले बताए ।

clock बिहिबार २०, भदौ २०८१ ०९:५७

प्रतिक्रिया