कञ्चनपुरमा हात्तीको बथानले ७ बिघाको धान सखाप पार्‍यो

  सोमबार १७, भदौ २०८१ २०:५३

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा हात्तीको बथानले ७ बिघाको धानखेती सखाप पारेको छ।

हरेक दिन राति बस्तीमा पस्ने हात्तीको बथानले स्थानीयको धानबालीमा ठूलो क्षति गरेको वडा अध्यक्ष हरिसिंह धनाडीले जानकारी दिए। हात्ती भगाउनकै लागि यहाँका स्थानीय रातभर जाग्राम बस्ने गरेको उनले बताए। 

“दिनहुँ राति २०र२२ वटा सङ्ख्यामा रहेको हात्तीको बथान बस्तीमा पस्छ,” उनले भने, “हात्तीले यहाँ हैरान गरेको छ स्थानीयले सुत्न पाएका छैनन्।”

भारतको दुधवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकै सखाप पार्न थालेपछि हात्ती भगाउन यहाँका स्थानीय रातभर जाग्राम बस्न थालेका हुन्। 

“हामीले राति उक्त बस्तीमा प्रहरीको डिउटी नै राखेका छौँ,” अध्यक्ष धनाडीले भने, “हात्ती लखेट्न वडा कार्यालयबाट टर्च, साइरन स्थानीयलाई उपलब्ध गराएका छौँ।” 

राति राति भारतको दुधवा राष्ट्रिय निकुञ्जबाट हात्तीको बथान छावासहित दिनहुँ बडुबाल टोलमा पस्ने गरेको स्थानीय बताउँछन्।

“हात्ती भगाउन आगो बालेर रातभर जाग्राम बस्नुपर्छ,” स्थानीय रमेश सुनारले भने, “यहाँका जनतालाई धेरै दुःख छ राज्यका तर्फबाट हात्ती रोकथामका लागि केही गर्न सकिएको छैन।” 

उनले हात्ती भगाउन यहाँ समूहमा युवाले रातिमा गस्ती गर्ने गरेको बताए। हात्तीले हरेक वर्ष यहाँ घरखेतमा नोक्सान गर्ने गरेको स्थानीय लक्ष्मी रानाले बताइन्। 

“धान र मकै सबै सखाप पारिसक्यो घरमा पस्ने डरले रातभर जाग्राम बस्छौँ,” उनले भनिन्, “हात्तीकै कारण यहाँ खेतसमेत बाँझो हुन थालेको छ।”

clock सोमबार १७, भदौ २०८१ २०:५३

प्रतिक्रिया