सुदूरपश्चिमको मौलिक पर्व गौरा सुरु, आज नाउलाकी गौरा

  आइतबार ०९, भदौ २०८१ १४:४२

धनगढी । सुदूरपश्चिमेलीहरूको महान् पर्व गौरा हिजो देखि सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका नौ वटै जिलामा भव्य रुपमा मनाइने गौरा पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा भिजाँइएको थियो । आईतबार बिरुडा धुदै नाउलामा गौराको बिधिवत रुपमा पूजा गरिएको छ । यसलाई नाउलाकी गौरा भन्ने प्रचलन रहेको छ ।

गौराको पहिलो दिन बिरुडा पञ्चमी, घरघरमा बिरुडा भिजाउने गरिन्छ । गहत, गुराउस, केराउ, चना, मटर मिसाएर बिरुडा भिजाउने चलन छ । कही कतै मास र गहुँ पनि मिसाईन्छ । केही समय पहिलेसम्म पहाडमा मात्रै मनाइने गौरा पछिल्लो समय तराईमा पनि भव्यताका साथ मनाउन थालिएको छ । पछिल्ला वर्षहरुमा संघीय राजधानी काठमाडौं लगायत सुदूरपश्चिमले बसोबार गर्ने भारतसंगै अन्य तेस्रो मुलुकहरुमासमेत गौरा पर्व मनाईदै आएको छ ।

शनिबार भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने गरिन्छ । सोही दिन बिरुडा धुनुका साथै विभिन्न धार्मिक तथा प्राचीन महत्वसँग जोडिएका धार्मिक गाथा, फाग, धमारी चाचरी, सगुना, देउडा लगायातका गीत र गाथा गाउनुका साथै भारी खेल खेलेर सुदूरबासी रमाउने गर्दछन । तर पछिल्ला वर्षहरुमा पहाडका गाउँघरमा बुढापाकाहरुको संख्या घट्दै जानु, पढाई र रोजगारीका लागि घर बाहिर जाने चलन बढेसंगै गाउँवस्तिहरु रित्ताहुदा पुराना परम्परागत मौलिक संस्कृती देख्न छाड्ेको छ । गाउँमा भएका थोरै गाउँलेहरुले परम्परागत संस्कृती जोगाउनका लागि भएपनि गौरासंगै अन्य कला संस्कृतीमा रमाउने गरेका छन ।

अमुक्ताभरण सप्तमीको दिन गौरालाई गौरा घरमा भित्र्याउने गरिन्छ । त्यो दिन व्रतालु महिलाहरूले साँझ गौरा घरमा गौराको पूजा गर्ने चलन रहिआएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा गौराको रौनक अझ बढी हुने गर्छ । बिरुडा भिजाइसकेपछि गणेश कलश स्थापना गरी आफ्नो कूल देवताको पूजा गर्ने तथा फाग गाएर गौरा पर्व मनाउने गरेको पण्डित लोकराज भट्टले बताए ।

गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूले गौराघरमा शिव र गौरीको पूजा अर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गर्दछन । यस पर्वमा शिव र पार्वतीको प्रेम अनि विवाहको स्मरण गर्दै विधिपूर्वक शिव पार्वतीको पूजा आराधना गरेर महिलाहरूले व्रत बस्ने गर्दछन ।

गाउँका पुरुष र महिलाहरूले पाँच दिनसम्म गौरा महेश्वरको पूजाआजा गरी धमारी, फाग, देउडा जस्ता गीत गाउने र देउडा खेल्ने गर्छन । साङ्गीतिक पर्वको रूपमा पनि चिनिने यो पर्व शिव र गौरी अर्थात् गौराको पूजा आराधनाले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख र सौभाग्य प्राप्त हुने मान्यता रहेको छ ।

सांस्कृतिक विशेषता
गौरा पर्वको विशेष धार्मिक र सांस्कृतिक महत्व छ । प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतीत्व रक्षार्थ निराहार रही गरेको उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन ।

सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान् सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउने धार्मिक प्रचलन रहेको संस्कृतविद्हरु बताउँछन । काम विशेषले घरबाहिर गएकाहरू पनि यस पर्वमा घर फर्किने हुँदा गौरा पर्वलाई आपसी सद्धभाव र एकताको पर्वका रूपमा पनि लिने गरिन्छ ।

clock आइतबार ०९, भदौ २०८१ १४:४२

प्रतिक्रिया