आचार्य कृष्णलाई धनगढी उपमहानगरको सम्मान, जागीर पनि दिने

  शनिबार ०८, भदौ २०८१ १२:१२

धनगढी । धनगढी उपमहानगरपालिकाले आचार्य कृष्णबहादुर दमाईलाई सम्मान गरेको छ । नेपाल संस्कृत विश्वविद्यालय, बेलझुन्डी, दाङबाट संस्कृत साहित्यमा दलित समुदायबाट पहिलो ‘आचार्य’ उत्तीर्ण गरेका दमाईंलाई उपमहानगरपालिकाले सम्मान गरेको हो । शनिवार एक कार्यक्रमको आयोजना गरी उपमहानगरले आचार्य दमाईलाई सम्मान गरेको हो । 

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आचार्य दमाईलाई सम्मान पत्र र एक लाख ५१ हजार नगदसहित सम्मान गर्नु भएको हो ।  आचार्य दमाइलाई बाजागाजासहित नगर सभा हलमा नगर प्रमुख हमाल र कार्यपालिका सदस्य र कर्मचारीहरूले स्वागत समेत गरेका छन् । 

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भएका दमाइले नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य गरेका हुन् । शिल्पी समुदायबाट संस्कृतमा आचार्य पास गर्ने दमाई नेपालकै पहिलो व्यक्ति हन् । 

आर्थिक अभाव खेपिरहेका दमाइलाई धनगढी उपमहानगरपालिकाले जागीर दिने भएको छ । नगर प्रमुख हमालले दमाइले जागीर पाए जीवनयापन गर्न सहज हुने बताएकाले काम दिने बताए ।

नगर प्रमुख हमालले शिल्पी समुदायबाट आचार्य उपाधी हासिल गरेका दमाइलाई आर्थिक समस्या भएको थाहा पाएर सम्मानसहित नगद सहयोग गरिएको बताए । उनले आचार्य दमाईले चाहेको बखत धनगढी उपमहानगरपालिकामा जागीर गर्न आउन आग्रह गरे । 

सम्मान कार्यक्रममा बोल्दै आचार्य दमाइले सनातन धर्मको रक्षाका लागि सबै समुदायले विभेद त्यागेर अगाडि बढ्नुपर्ने बताए । उनले धनगढी उपमहानगरपालिकाले स्थानीय तह मध्य सबैभन्दा पहिले आफूलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै सनातन धर्मको रक्षाका लागि काम गर्ने बताए । 
 

clock शनिबार ०८, भदौ २०८१ १२:१२

प्रतिक्रिया