बाढी घटे पनि कैलालीका विस्थापित सडकमै

  शुक्रबार ०७, भदौ २०८१ १२:१३

धनगढी । कैलालीको डुबान प्रभावित क्षेत्रमा बाढी घटे पनि विस्थापितहरु सडकमा बस्न बाध्य छन् । डुबान भएको घर हिलाम्मे भएका कारण उनीहरु सडकमा बस्न बाध्य भएका हुन् । 

हिजो मोहना, पथरैया, कान्द्रा, काँढा नदीमा आएको बाढीले सो पालिका जलमग्न भएको थियो । बाढीले १ देखि ९ वडासम्म डुबान गरेपछि चार हजार ३२७ परिवार प्रभावित भएका थिए ।

प्रभावितमध्ये ७५० परिवार विस्थापित भएर हुलाकी राजमार्ग र आफन्तको घरमा आश्रय लिएको जनाइएको छ । 

बाढी घटे पनि कतिपय विस्थापित अझै सडकमा बसिरहेको भजनी नगरपालिकाको विपत् व्यवस्थापन स्रोत व्यक्ति विष्णु न्यौपानेले बताए । 

“बाढी घटे पनि घरभित्र हिलो छ । मान्छेहरु घरसम्म आउजाउ गरे पनि बस्न भने अन्यत्र गइरहेका छन्” उनले भने, “अब जनजीवन सामान्य बन्दैगएको छ ।”

जिल्लामा सबैभन्दा होचो भूभाग रहेको भजनी नगरपालिकामा हरेक वर्ष डुबान हुनेगरेको छ । गत वर्ष पनि पानी परेपछि थुप्रै पटक डुबान भएको थियो । 

यसैबिच, कैलारी गाउँपालिका –५ का विस्थापित घर फर्केका छन् । बाढी घटेपछि उनीहरु सुरक्षित स्थानबाट घर फर्केका कैलारी गाउँपालिकाका विपत् स्रोत व्यक्ति भुवन बखरियाले बताए । 

clock शुक्रबार ०७, भदौ २०८१ १२:१३

प्रतिक्रिया