कैलालीमा ५ सय बढी घर डुबानमा, १७ सय बढी प्रभावित

  बिहिबार ०६, भदौ २०८१ १०:३४

धनगढी । कैलालीमा परिरहेको भीषण वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ । भजनी, जोशीपुर, जानकी, घोडाघोडी कैलारी, गौरीगङ्गाका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार अहिलेसम्म कैलालीमा ५ सय बाढी घर डुबानमा परेका छन् भने १७ सय भन्दा बढी नागरिक प्रभावित भएका छन् ।

भजनीमा ४ सय बढी घर डुबानमा परेको उनले जानकारी दिए । हसुलिया गौरीगङ्गा सुखडमा डुबान भएको छ । कैलारीका केही परिवार वडा कार्यालयमा पसेका छन् ।

कैलारी ५ वयनपुरमा घरमा पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीय लोकमाया चौधरीलाई पानीले बगाएको थियो । उनको उद्धार पछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

अहिले पनि कैलालीमा साना ठुला नदीमा पानीको बहाव बढिरहेको छ भने निरन्तर वर्षा भइरहेको छ । बाढीको जोखिम अझै बढ्न सक्ने भन्दै जोखिम क्षेत्रमा रहेको स्थानीयहरूलाई सुरक्षित ठाउँमा आउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरिसकेको छ । 

अहिले स्थानीय पालिका, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य समेत जारी रहेको छ । होचो भू–भागमा डुबानको जोखिम रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले पनि नदी क्षेत्र तथा नदीका कारण डुबान हुने भू(भागका नागरिकहरूलाई सतर्क रहन भनेको छ।

clock बिहिबार ०६, भदौ २०८१ १०:३४

प्रतिक्रिया