धार्मिक आस्थाको शक्ति केन्द्र बडीमालिकामा पूजा

  आइतबार ०२, भदौ २०८१ १०:०३

बाजुरा । आँखाले भ्याउने सम्मको फराकिलो लेकाली फाँट । सतहमा रंग–विरंगी जंगली फूलहरु । मध्यभागमा कलकल बग्ने खोला । खोला किनारमा मन्दिर । प्रकृतिको यो कस्तो मनोहर उपहार रु बाजुरा जिल्लामा रहेको धार्मिक स्थल बडीमालिकामा आज मुख्य पूजा हुन्छ ।

नेपालको एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा हरेक वर्ष श्रावण र भाद्र शुक्लपक्ष चतुर्दशीका दिन मुख्य पूजा लाग्छ । यस बर्ष बडीमालिकामा भाद्र २ गते मुख्य पूजा लागेको छ । बडीमालिकाको तीर्थयात्रामा गए मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ ।

प्रत्येक वर्ष जिल्लाभित्र र बाहिरका तीर्थयात्री तथा पर्यटकहरू, सरकारी कार्यालय र स्थानीय पर्यटक सहित भक्तजन परम्परा अनुसार एक हप्ता अगाडी नै बाहिरबाट आउने गरेका छन् । बडीमालिका मन्दिर समुद्री सतह बाट ४ हजार २ सय १६ मिटर उचाईमा रहेको छ ।

मागेको वर पाइने र मनोकांक्षा पुरा हुने विश्वासका साथ धार्मिक शक्ति केन्द्रमा भक्तजनहरुले पूजा पाठ गर्ने गरेका छन् । दर्शनका लागि बाजुरा, डोटी, अछाम, कालीकोट, जुम्ला सहित देशभरिबाट भक्तजनक आउने गरेका छन् । भने छिमेकी देश भारतबाट पनि भक्तजनहरु बडीमालिकाको दर्शनका लागि आउने गरेका छन् ।

सत्ययुगमा भगवान शिवले सतीदेवीको शरिरलाई संसार भर घुमाउने क्रममा पर्वत शृङ्खलामा शरीरका अंगहरु खसेको र सोही स्थानमा देवीको फेरि अवतार भएको धार्मिक विश्वासका आधारमा पुजापाठ गर्ने गरिएको छ । धार्मिक आस्था र विश्वासको आधारमा सबैको महिमा र विश्वास समान खालेको भएपनि बडीमालिका र बुढीनन्दा बढी चर्चा र विख्यात रुपमा चिनिएका छन् ।

बडीमालिका क्षेत्रमा २२ आकर्षक पाटनहरू, खेतीबेती, त्रिवेणीधाम लगायत धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन् । धार्मिक पूजाआरधानाका साथै सोही स्थानहरूको अवलोकन गर्न तीर्थयात्रीहरू बडीमालिका आउने गरेका छन्।बडीमालिकाको दर्शनपछि मनोकांक्षा पूरा हुने अद्भूत दैवी शक्ति भएकाले अधिकांश श्रद्धालु भक्तजनहरू दर्शन गर्न आउने गरेको बडीमालिकाका पुजारी नेत्रप्रसाद पाध्यायले बताएका छन् ।

बडीमालिकाले निसन्तानीलाई सन्तान दिने, मागेको पूरा हुने विश्वासका साथ श्रद्धालु भक्तजनहरू बडीमालिकामा घुइँचो लाग्ने गरेको पुजारी पाध्यायको भनाई रहेको छ ।बडीमालिका पूजाका लागि डोटीबाट डोल, जुम्लाको चन्दनाथ मन्दिर र कालीकोटबाट सरकारी पूजा टोली बडीमालिका क्षेत्रमा पुगिसकेको छ ।

बडीमालिकामा परम्परादेखि नेपाल सरकारको नेतृत्व गर्दै बाजुरा जुम्ला, कालीकोट र डोटीबाट सरकारी टोली अनिवार्य उपस्थिति हुनुपर्ने चलन रहेको छ ।बडीमालिका क्षेत्रको धार्मिक, सांस्कृतिक संरक्षणका लागि संरक्षण क्षेत्र घोषणा गरिएको छ । बडीमालिका पुग्न सात दिनको पैदल यात्रा गर्नुपर्ने हुन्छ ।

विभिन्न जिल्लाबाट हजारौँ भक्तालुहरू यात्रामा निस्किएका छन् । बडीमालिका र बुढीनन्दालाई धार्मिक शक्ति केन्द्रका रुपमा पुजा पाठ गर्ने गरिएको छ । त्यो बाहेक जनैपूर्णिमाकै अघिल्लो दिन बाजुराका बढालेक, दुनालेक, डडुल्ले, भण्डारथुम, शम्भु सुनन्दा, चुल्ठ्या सहितका दर्जन बढी धार्मिक शक्तिकेन्द्रमा पनि एकसाथ  पूजा लाग्ने गरेको छ ।

clock आइतबार ०२, भदौ २०८१ १०:०३

प्रतिक्रिया