धनगढीमा खोजीखोजी अपाङ्गता भएका व्यक्तिलाई निस्शुल्क सहायता सामग्री वितरण

  शनिबार ०१, भदौ २०८१ १५:३९

धनगढी । धनगढी उपमहानगरपालिकाले गत वर्ष झै यो वर्ष पनि खोजीखोजी अपाङ्गता सहायता सामग्री वितरण गरेको छ। उपमहानगरले यो वर्ष २१६ जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरेको हो। यो वर्ष २१ लाख ४० हजार ३ सय रुपैयाँ बराबरको अपाङ्गता सहायक सामग्री वितरण गरिएको उपमहानगरले जनाएको छ।

उपमहानगरपालिकाले स्क्रिनिङ गर्न र सामग्री वितरण गर्न सर्वाङ्गिण अपाङ्गता विकास समाज धनगढीसँग प्रविधिक सहकार्य गरेको हो। गत वर्षसमेत अपाङ्गता भएका व्यक्तिलाई खोजीखोजी सहायक सामग्री वितरण गरिएको थियो। गत वर्ष १८९ जनालाई २०५ वटा सहायक सामग्री वितरण गरिएको थियो। १०५ जना पुरुष र ८४ जना महिलालाई गत वर्ष अपाङ्गता सहायक सामग्री वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए।

उपमहानगरपालिका क्षेत्रलाई पाँच क्लस्टरमा विभाजन गरेर स्क्रिनिङ शिविर चालाए झै पाँच वटै क्लस्टरमा पुगेर सहायक सामग्री वितरण गरिएको महिला विकास अधिकृत पंकजा जोशीले बताइन्। उनले अपाङ्गता भएका व्यक्तिहरूको पहुँच वृद्धि गर्न उपमहानगरपालिकाले हरेक वर्ष सहायक सामग्री वितरण गर्दै आएको बताइन्।

धनगढी उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामग्री वितरण गर्ने कामलाई अभियानकै रुपमा लिएको छ। जसअनुरुप धनगढी क्लस्टर अन्तर्गत पर्ने वडा नम्बर १,२,३,४,५,७ र ८ मा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई शुक्रवार नगरपालिका परिसरमा सहायक सामग्री वितरण गरिएको हो। नगरपालिका परिसरमा  बिहान ८ बजेदेखि  दिउँसो १ बजेसम्म  ५५ जनालाई सहायक सामग्री वितरण गरिएको हो।

यस्तै, बेला क्लष्टरमा पर्ने वडा नम्बर  ६, ११ र १३ मा बसोबास गर्ने लाभग्राहीहरूलाई घोड्सुवा स्वास्थ्य चौकीमा दिउँसो २ बजेदेखि  साँझ ६ बजेसम्म सहायक सामग्री वितरण गरिएको थियो। बेला क्लस्टर अन्तर्गतको घोड्सुवा स्वास्थ्य चौकीमा २५ जनालाई सहायक सामग्री वितरण गरिएको जोशीले बताइन्। बेलामा ८० जनालाई सहायक सामग्री वितरण गरिएको हो।

यो वर्ष उपमहानगरपालिकाले ह्विल चेयर ७५ थान, ट्राइ साइकल ३२ थान, हेयरिङ एड ३३ थान, एल्बो क्रचेज १२ थान, वाकिङ स्टिक ३४ थान, वाकर ३ थान, कमोड चेयर १ थान, सहायक क्रचेज २४ थान तथा ट्रान्सफोमल प्रोथेसिस २ थान वितरण गरिएको उपमहानगरले जनाएको छ।

उपमहानगरपालिकाले यो वर्ष निस्शुल्क सहायक सामग्री वितरण गरेका २१६ जना मध्ये धनगढी क्लस्टरमा ५६ जनालाई सहायक सामग्री वितरण गरेको छ भने फूलबारी क्लस्टरमा ५२ जना, बेला क्लस्टरमा २९ जना, उर्मा क्लस्टरमा ४९ र जुगेडा क्लस्टरमा ३० जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरिएको हो।

उपमहानगरपालिकाले हरेक वर्ष अपाङ्गता भएका व्यक्तिलाई खोजीखोजी निस्शुल्क सहायक सामग्री दिने नीति लिएको छ।

clock शनिबार ०१, भदौ २०८१ १५:३९

प्रतिक्रिया