सुदूरपश्चिममा आज ओल्के संक्रान्ति हर्षोल्लासका साथ मनाईदै

  शनिबार ०१, भदौ २०८१ ०७:४५

धनगढी । सुदूरपश्चिममा आज भदौ १ गते ओल्के संक्रान्ति हर्षोल्लासका साथ मनाईदैछ । ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ ।  आफूभन्दा ठुलाबडा, मान्यजन वा जेष्ठ नागरीकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफुल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रही आएको छ । यसका साथै विहानै नुहाईधुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात उपहार दिने पनि गरिन्छ ।

वर्षा पछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुसीयालीमा यस क्षेत्रमा ओल्को मनाउने प्रचलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए । यो दिन ओल्कोको रुपमा फलफुल, सागपात, अन्न, दुध, दहि, घिउ,गूड र पक्वान्न आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन रहेको छ । धेरै जसो ठाउंमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन् । 

यो पर्व कुनै धार्मीक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाहरुको मौलिक पर्व रुपमा पनि रही आएको छ । भने सिंह संक्रान्ती पनि भन्ने गरिएको छ । ओल्को भन्नाले सम्मानित ब्यक्तिलाइ दिइने केहि बस्तु वा उपहारलाइ जनाउछ । यो पर्ब बिशेषमा ओल्कोका रुपमा फलफुल, सागपात, अन्न, दुध, दहि, घिउ,गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहा पठाइन्छ भने अचेल लुगा कपडा, पैसा वा यस्तै अन्य उपहार समेत दिने गरिन्छ । 

ओल्को परापुर्वकालमा केहि बर्ष अघि सम्म ठुलाबडालाइ साना जातकाले चिनो बस्तु चढाउने दिनका रुपमा समेत रहि आएको छ । ओल्के संक्रान्तिताका सतरति (सातरातको झरि)  पर्दछ । यो समयमा आकासमा तारा देखिएमा वा बन चर्न गएका भैसीका सिङ ओभानो भएमा समेत अनिकाल पर्ने संभाबना र ऋतुमति धर्तिले नबीन श्रृजना गर्ने थाल्ने विश्वास रहि आएको छ ।

प्रकृतिमा नयाँ नयाँ किसिमका बनस्पति र किरा फट्याङ्ग्राहरु देखिनुका साथै धुलो धुवा र फोहोर पखालिन्छ र पाखा पखेरामा नवधार फुट्न थाल्ने पनि विश्वास रहेको छ । यो पर्व नेपालको सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालतिर मनाईन्छ । साथै ओल्के संक्रान्तिका दिन गाउ नजिकका अलिक उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाइ स्थानिय भाषामा “बुढी हालेको’’ भन्ने गरिएको छ । 

यो बूढीलाइ असोज संक्रान्तिका साँझ प्रत्येक घर९घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ’बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको पण्डित दयाकृष्ण पन्तले बताए । यस अनुष्ठानलाइ द्वापरकालिन मथुराकी पुतना को कथासङ्ग पनि जोडिएका ेछ । 

भगवान कृष्णलाई पुतना राक्षेसनीले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाराक्षेशनीको स्तन चुसेर मारेपछि पुतनाको भयानक रुप पैदाभएको तथा मरेको लाशलाई हटाउन नसकेपछि गोकुलवासी ग्वालाहरूले टुक्राटुक्रा पारेको दिनको सम्झनामा आज बुढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ । 
तर पछिल्ला समय आधुनिकताका साथै युवापुस्ताले खासै ध्यान नदिदा यो पर्व लोप हुदै गईरहेको छ । यो पर्वलाई प्रतिष्ठाको पर्व भएकाले मनाउन अपरिहार्य रहेको जानकारहरुले बताउने गरेका छन । 

clock शनिबार ०१, भदौ २०८१ ०७:४५

प्रतिक्रिया