बाजुराको हिमाली गाउँपालिकाका स्थानियको भिरालो बस्तीमा डरैडरको बास

  बिहिबार ३१, साउन २०८१ ११:५९

बाजुरा । पाखो तथा भिरालो बस्तीका स्थानीयलाई बर्खाको बेला डरैडरमा बास बस्ने अवस्था आएको छ । पाखो तथा भिरालो बस्तीको तलमाथिबाट पहिरो जाने जोखिम रहेकाले डरैडरमा बस्नु परेको स्थानीयवासी बताउँछन् । पानी परेका बेला गाउँबस्तीको तलमाथिबाट पहिरो जाने गरेकाले घरमा रातदिन बसोबास गर्न निकै डर लाग्न थालेको हिमाली गाउँपालिका–३ का हंस बुढाले बताए ।

“भिरालो ठाउँमा बसोबास छ, पानी परेका बेलामा राति घरको माथिबाट पहिरो आएर कति बेला पुर्छ भन्ने डरैडरमा रात काट्नु परेको छ,” उनले भने । साउन २६ गते गोठालो गएका बेला दिउँसै माथिबाट पहिरो आएर धेरै पशुचौपाया मरेको घटना उहाँले सुनाउनुभयो । सो पहिरोका कारण घाइते भएका बुढा कहिले घरमाथिबाट पहिरो जाने हो डरमर्नु भएको बताउछन् । 

हिमाली, बुढीनन्दा, स्वामीकार्तिक, जगन्नाथ, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तडछेडेदहलगायतका पालिकामा पाखो तथा भिरालो ठाउँ अहिले बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । बर्खाको समय लगातार परेको अविरल वर्षाका कारण अधिकांश ठाउँमा पहिरो जाने गरेकाले पछिल्लो समय बस्ती पनि बाढीपहिरोको जोखिममा रहेका हुन् ।

असारको पहिलो सातादेखि साउनको अन्तिमसम्म हिमाली, जगन्नाथ, खप्तडछेडेदह र त्रिवेणीलगायतका पालिकाको अधिकांश पाखो तथा भिरालो ठाउँका बस्तीमा गएको पहिरोले धेरैको उठिबास लगाएको छ । पहिरोले घरवारविहीन भएका स्थानीय अहिले खुला आकाशमा त्रिपालमुनिको बास बसिरहेका छन् । 

बाढीपहिरोको जोखिममा रहेका बस्तीलाई स्थानान्तरणका लागि स्थानीय तहले जिल्ला विपत् व्यवस्थापन समितिलाई पत्राचार गरेको छ तर कुनै जवाफ नआएको पालिकाले जनाएका छन् । गत साउन २६ गते हिमाली गाउँपालिका–३, बौडीमा दिउँसै पहिरोमा परेर ४१ पशुचौपाया मरेका छन् । गोठालो गएका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

clock बिहिबार ३१, साउन २०८१ ११:५९

प्रतिक्रिया