काभामा उत्कृष्ट प्रदर्शन गरेकी निरुता सहायक हवल्दार बढुवा

  बुधबार ३०, साउन २०८१ २०:२४

काठमाडौं । ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लबका तीन महिला भलिबल खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । आज प्रधान कार्यालयमा आयोजित कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरुमा सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट छन् । महानिरिक्षक अर्यालले लामो समयदेखि नेपाल एपीएफ क्लबमा आवद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट खेल प्रदर्शन गर्दै देश र संगठनको छवी उच्च राख्न खेलेको महत्वपूर्ण योगदान पुर्याएको भन्दै खुशी प्रकट गरे ।

सशस्त्रले काभा लिग तथा अन्य भलिबल प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गरेकोमा एक खेलाडीको पदोन्नति समेत गरेको छ । भलिबल टिमकी सदस्य निरुता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको हो ।

बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले बुधबार दज्र्यानी चिन्ह प्रदान गरे ।

यसअघि २२ औं सशस्त्र प्रहरी दिवस–२०७९ को अवसरमा सरस्वती चौधरीलाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा पदोन्नती गरिएको थियो ।

clock बुधबार ३०, साउन २०८१ २०:२४

प्रतिक्रिया