अत्तरियामा रहेको कृषि हाट बजारको परिषरमा रोपिए विरुवा

  मङ्गलबार २९, साउन २०८१ १३:४१

अत्तरिया । कैलालीको अत्तरियामा रहेको कृषि उपज थोक हाटबजार परिषरमा विरुवा रोपिएको छ । मंगलबार कृषि उपज थोक बजार समितिले बजार परिषरमा विभिन्न प्रजातीका विरुवा रोपेको हो ।

कृषि उपज थोक बजार समितिका अध्यष नन्दलाल भट्टले कृषि हाटबजारभित्र पर्यावरणलाई सहयोग गर्न विभिन्न जातका विरुवाहरु रोपिएको बताए । उनले समी, धुप, बाह्रमासे फुल लगायतका विरुवाहरु रोपि हाटबजार भित्र मिनि बगैचाको संरचना निर्माण गरिने बताए । उनले हाटबजार भित्र प्रवेश गर्न व्यापारीहरुलाई देख्नमा पनि आर्कषक देखिने गरी करिब ४०० विरुवाहरु रोपिने बताए ।

त्यसअघि एक औपचारीक कार्यक्रमको आयोजना गरिएको थियो । समितिका अध्यक्ष नन्दलाल भट्ट को सभापतित्वमा आयोजित औपचारीक कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा नगरप्रवत्ता एवम् वडा नं। १ का वडाध्यक्ष गोपाल दत्त भट्ट रहेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले हाटबजारका समस्याहरुका बारेमा नगरपालिका सहयोगका लागि तत्पर रहेको बताए ।

उनले समस्या एवम् गुनासाहरुलाई चियापसलमा नभनी आफुलाई भेटेर भन्न आग्रह गरे । ‘यहाँका आवश्यकता के छन, समस्या के छन भन्ने विषयमा हामी छलफल गर्न सक्छौ’ उनले भने ‘जनतासँग जोडिएको नजिकको सरकार भएकाले हाम्रा पनि कठिनाई छन, तर हामीसँग भएका समस्याहरु सार्वजनिक स्थानमा, चियापसलमा भनेर समस्या समाधान हुदैनन् ।’ यस्ता कुरामा सबैको समन्वय हुन आवश्यक रहेको उनले बताए । उनले किसानहरुका समस्याका बारेमा छलफल गरेर समस्याको समाधानमा अग्रसर बन्न नगरपालिका तयार रहेको बताए । उनले कृषि हाटबजारलाई नगरपालिकाले फरक दृष्ट्रिकोणले कदापि नहेर्ने बताए ।

समितिका अध्यक्ष भट्टले हाटबजारलाई नगरपालिका भित्रको मात्रै नभई सुदूरपश्चिम प्रदेशकै ठुलो संरचना बनाउने गरी आफु लागिरहेको बताए । उनले हाटबजारमा दैनिक ५० हजार भन्दा बढी नागरिकले प्रत्यक्ष सेवा सुविधा तथा रोजगारी पाईरहेको बताए । उनले बजारलाई अझै व्यवस्थीत बनाउने गरी योजनाहरु निर्माण गर्ने तथा त्यसको कार्यान्वयनका लागि पहल थाल्ने काम भैरहेको बताए ।

clock मङ्गलबार २९, साउन २०८१ १३:४१

प्रतिक्रिया