सिमा नाकामा थप कडाई गर्न डिआईजी केसीको निर्देशन

  सोमबार २८, साउन २०८१ १७:१९

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) रविन्द्र केसीले सिमानाकामा कडाई गर्न निर्देशन दिएका छन्। आइतबार प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित एक कार्यक्रमकाबीच डीआईजी केसीले कैलाली र कञ्चनपुरका प्रहरी प्रमुखहरूलाई सो निर्देशन दिएका हुन्। उनले शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ एवम् प्रभावकारी बनाउनको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरूले निष्ठावान, ईमान्दार एवं सिर्जनशील भई कार्य गर्दै अवैध भन्सार चोरी निकासी, लागूऔषध, जुवा तास तथा देह व्यापार जस्ता गैर कानुनी क्रियाकलापहरुविरुद्ध शून्य सहनशीलताका साथ प्रस्तुत हुन निर्देशन दिए।

साथै डीआईजी केसीले सीमा नाकाबाट हुने अवैध भन्सार चोरी तस्करी तथा आपराधिक गतिविधिकाविरुद्व कडाइका साथ प्रस्तुत हुपनि निर्देशन दिए। यस्तै उनले लागू औषधको ओसारपसार र बिक्री वितरण नियन्त्रणमा अझ प्रभावकारिता ल्याउन, सवारी दुर्घटना न्यूनीकरण र नियन्त्रणका लागि योजनाबद्ध रूपमा परिचालन हुन, पेण्डिङ मुद्दा अनुसन्धान द्रुत गतिमा अगाडी बढाउन, फरार प्रतिबादीहरूको खोजतलास गर्न, सामाजिक अपराध रोकथाम तथा नियन्त्रणमा प्रभावकारी ढंगले प्रस्तुत हुन पनि निर्देशन दिए।

यसैगरी नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध स्थापित गरी नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न, गैरव्यवसायिक र प्रहरी आचरण विपरीतका कुनै पनि गतिविधिमा संलग्न नभई अनुशासन रही उच्च मनोबलका साथ कार्य सम्पादन गर्नुका साथै सूचना संकलन एवं विश्लेषणलाई थप प्रभावकारी बनाउन र आम जन-मानसले प्रहरीसँग अपनत्व महसुस गर्ने गरी कार्य सम्पादन गर्न समेत डीआईजी के।सीले निर्देशन दिए। उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुर जिल्लाको शान्तिरसुरक्षाको वर्तमान अवस्था, ट्राफिक व्यवस्थापन तथा विपद् व्यवस्थापनको बारेमा बृहत् समीक्षा भएको थियो।

सो कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज विष्ट समेतका प्रहरी अधिकृतहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेतको सहभागिता रहेको थियो। यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र कञ्चनपुर तथा दुवै जिल्लाका सीमानाका प्रमुख सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत समेत गरी ६० जना प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

clock सोमबार २८, साउन २०८१ १७:१९

प्रतिक्रिया