सुदूरपश्चिममा एक वर्षमा गुमाए १७२ जनाले सवारी दुर्घटनामा ज्यान

  शनिबार २६, साउन २०८१ १०:२८

धनगढी । सुदूरपश्चिम प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परेर १ सय ७२ जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर ५ सय ३६ जना घाइते भएका छन्। सो अवधिमा २६७ जना गम्भीर घाइते भएका छन् भने २६९ जना सामान्य घाइते भएका छन्। सो अवधिमा ३ सय ९ वटा सडक दुर्घटना हुँदा ४ सय ६ वटा सवारीसाधनमा क्षति पुगेको छ। कुल सवारीसाधन दुर्घटनामध्ये ५० प्रतिशत मोटरसाइकल दुर्घटनामा परेको पाइएको छ।

ट्राफिक प्रहरीले भने सडक दुर्घटना न्यूनीकरण गर्न साढे ६ हजार पटक जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको जनाएको छ। सवारी दुर्घटनामा १३७ पुरुष, २३ महिला, ७ बालक र ५ बालिकाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता ट्राफिक प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले बताए।

३०९ सडक दुर्घटना
सो अवधिमा सबैभन्दा बढी २०७ मोटरसाइकल दुर्घटनामा परेका छन्। सडक दुर्घटनामा ५० वटा जिपरकार, ४० ट्याक्टर, २४ बस, १९ ट्रक, टेम्पो १७, टिपर ९, माइक्रो ७, डोजर ३ र ३० अन्य सवारीसाधन दुर्घटनामा परेका छन्। सडक दुर्घटना रोक्न ट्राफिक प्रहरीले एक वर्षमा ६ हजार ६२६ पटक ट्राफिक सचेतना कार्यक्रम चलाएको छ। ३ लाख ८९ हजार २६६ व्यक्तिलाई ट्राफिक प्रहरीले सचेत गराउने काम समेत गरेको ट्राफिक प्रहरी प्रवक्ता डिएसपी उप्रेतीले बताए।

कुन महिनामा कति दुर्घटना ?
सडक दुर्घटना रोक्न ट्राफिक प्रहरीले लामो रुटमा चल्ने सवारीसाधनमा चालकसँग एक मिनेट, यात्रुसँग दुई मिनेट र नयाँ सवारी चालक अनुमति लिने व्यक्तिलाई सम्बन्धित ठाउँमा सडक सुरक्षा सम्बन्धी जनचेतना जगाउने काम गरिएको ट्राफिक प्रहरी प्रवक्ता उप्रेतीले बताए।

गत आर्थिक वर्षमा भएका सडक दुर्घटनामा सबभन्दा बढी भदौ र कात्तिकमा ७४ वटा सवारी दुर्घटना भएका छन्। यस्तै, बैशाखमा ३६, पुसमा ३०, जेठमा २५, असार र फागुनमा समान २४, माघमा २२, असोजमा १९ वटा सडक दुर्घटना भएका छन्। चैतमा १७ तथा मंसिर र साउनमा समान १४ वटा दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ।

clock शनिबार २६, साउन २०८१ १०:२८

प्रतिक्रिया