प्राविधिक टोलीद्वारा कञ्चनपुरको बाढीग्रस्त क्षेत्रको निरीक्षण

  शनिबार २६, साउन २०८१ ०८:०५

कञ्चनपुर । भौतिक पूर्वाधार मन्त्रालयका सचिव सुरत कुमार बम नेतृत्वको प्राविधिक टोलीले कञ्चनपुरको दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।

शुक्रबार दोधारा चाँदनी नगरपालिका–३ पटराखल्ला, वडा नम्बर ८ सुन्दरनगर र वडा नम्बर १० को १८ नम्बर पिल्लर बस्तीको स्थलगत निरीक्षण गरेको हो ।

जोगबूढा नदीको कटानको दीर्घकालीन समाधानका सम्भावना पहिल्याउन जनप्रतिनिधिसहित प्राविधिक टोलीले निरीक्षण गरेको छ । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल र आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्की पनि बाढीग्रस्त क्षेत्रको निरीक्षणमा पुगेका थिए ।

प्राविधिक टोलीलाई बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गराएर समस्या समाधानका लागि अग्रसर बनाउन खोजिएको हो ।

जोगबूढा नदीमा पक्की तटबन्ध निर्माण नहुँदा बर्सेनि कटान र डुबानको समस्या झेल्दै आएका छन् । असार तेस्रो साता आएको बाढीले क्षति पु¥याएको क्षेत्रको पूर्व मुख्यमन्त्री रावल नेतृत्वको टोलीले यसअघि पनि निरीक्षण गरेको थियो ।

निरीक्षण पश्चात् डुबान र कटानको समस्यालाई समाधान गर्न रावल सक्रिय छन् । प्रदेश सभा बैठकमै उनले बाढी र कटानको मुद्दा उठान गरेर सरकारको ध्यानाकर्षण गराएका थिए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका चुरे भेगमा पर्ने ब्रह्मदेव बजार डुबानको समस्या र खन्या खोलाको कटानको अवस्था निरीक्षण गर्न भोले प्राविधिकसहितको टोली त्यहाँ जानेछ ।

बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि उनीहरूलाई राहत क्षतिपूर्ति पुनर्स्थापनाको लागि सरकारले योजना बनाउने आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले बताए ।

एमाले संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री रावलले मन्त्रालयको सचिवसहितको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेपछि दीर्घकालीन समस्या समाधानको लागि नीति बनाइने बताए ।

clock शनिबार २६, साउन २०८१ ०८:०५

प्रतिक्रिया