आज गुरही पर्व मनाइँदै, केही पालिकामा सार्वजनिक विदा

  शुक्रबार २५, साउन २०८१ ०७:१०

धनगढी । थारु समुदायमा आज गुरही (गुरिया) मनाइँदै छ । यो पर्व नाग पञ्चमीको दिन मनाइने गरिन्छ । विशेषगरी पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका बस्ती बस्तीका साथै पछिल्लो समय काठमाडौँमा समेत भव्यताका साथ पर्व मनाउन थालिएको छ ।

गाउँघरबाट रोगव्याधी हट्ने र शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख भव्यताका साथ पर्व मनाउने प्रचलन थारु समुदायमा रहँदै आएको छ । पर्वमा भाइ बहिनीको उपस्थिति विना अपूरो हुने हुँदा यस पर्वले दाजुभाइबिचको माया प्रेम थप प्रगाढ बनाउँदै आएको थारु बुद्धिजीवीहरूको भनाइ छ ।

पछिल्लो समय गुरही पर्व औपचारिक रूपमा मनाउन थालिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोडस्थित गुरही चौकमा भव्य रूपमा गुरही कार्यक्रमको आयोजना गरिएको छ ।

आयोजक सखी सञ्जाल कैलालीकी अध्यक्ष उन्नति चौधरीले विगत १५ वर्षदेखि नियमित रूपमा औपचारिक रूपमा विभिन्न कार्यक्रम गरी गुरही पर्व मनाउँदै आएको बताइन् । पर्वको पूर्वसन्ध्यामा विहीबार गुरही चोकमै आयोजकले रक्तदान कार्यक्रम गरेका छन् । भोलि शुक्रबार साँझ भने ‘गुरही असरैना कार्यक्रम’ राखेको आयोजकले जनाएको छ ।

गुरही भनेको एक किसिमको गाइने किरा हो । यो पर्वमा कसैले गुरही–गुरहा, कसैले केटी–केटा वा दुलहा–दुलहीको प्रतीकको रूपमा कपडाको पुतला, खेलौना बनाउँछन् । हिन्दी भाषामा यस्ता पुतला, खेलौनालाई गुडिया भन्ने गरिन्छ । त्यही गुडिया शब्द थारु भाषाको उच्चारणमा गुरिया हुन पुगेको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी बताउँछन् ।

यसैबिच थारु बहुल क्षेत्रस्थित स्थानीय तहहरूले सार्वजनिक बिदा दिएका छन् । कैलालीकै कलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका लगायत पालिकाहरूले सार्वजनिक बिदा दिएका छन ।

clock शुक्रबार २५, साउन २०८१ ०७:१०

प्रतिक्रिया