टीकापुरमा एक हप्तादेखि चितुवाको आतङ्क

  बिहिबार २४, साउन २०८१ ०६:३९

टीकापुर । टीकापुरमा दैनिक बाख्रा मारिन थालेपछि सरकारी निकायको बैठक बसेको छ । मङ्गलबारसम्म दश वटा किसानका खोरमा रहेका १८ बाख्रा मारिसकेपछि बुधबार टीकापुर नगरपालिकामा इलाका प्रशासन, इलाका प्रहरी, वन डिभिजन कार्यालय पहलमानपुरका प्रमुखहरुसहितको बैठक बसेको हो । 

जङ्गली जनावरको आतङक देखिएकाले प्रभावित क्षेत्रमा राति हिडडुल नगर्न सूचना जारी गर्ने, जनावरलाई नियन्त्रणमा लिन वन डिभिजन कार्यालयलाई अनुरोध गर्ने र क्षतिपूर्तिका लागि डिभिजन वन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले बताए ।

वन डिभिजन कार्यालय पहलमानुरका प्रमुख वन अधिकृत रामविचारी ठाकुरले टीकापुरमा दैनिक रुपमा भइरहेको घटना बारेमा बर्दिया राष्टिङय निकुञ्जसँग कुरा भइरहेको र नगरपालिकाबाट अनुरोध भई आए बमोजिम निकुञ्ज र प्रकृति संरक्षण कोष बर्दियालाई खोज अनुसन्धान तथा उद्दार टोली पठाएर अनुसन्धान गरी सो जनावरलाई पक्रिन अनुरोध गर्ने बताए । घटनाको प्रकृति हेर्दा बाघ वा चितुवाको आक्रमण हुनसक्ने भए पनि हाल सम्म कसैले देखेको छैन । 

जगली जनावरबाट नै बाख्रा मारिएको एकीन भएमा सरकारी नियमअनुसार प्रति पशुवस्तु दश हजारसम्म क्षतिपिूर्ति दिन सकिने वन अधिकृत ठाकुरले बताए ।

हप्ता दिनदेखि दैनिक बाख्रा मारिँदै

इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार साउन २२ गते मङ्गलबार राति मात्रै टीकापुर नगरपालिका–१ ब्लक नम्बर १८ का कोकिला दमाई र शेरबहादुर कुँवरका २÷२ वटा बाख्रा मारिएका छन् भने राजिपुरका डिक्रा परियार र नरपता थापाका १÷१ बाख्रा घाइते बनाएको छ ।

साउन २१ गते ब्लक–बीस्थित विक्की सिंह विकको गोठमा रहेका दुईवटा बाख्रा मारिएका छन् ।  साउन २० गते राति ब्लक–१७ विजुसिंह विष्ट र दुर्गा परियारका ३÷३ वटा बाख्रा मारिएका छन् । मारिएका बाख्राको घाँटीमा २÷४ ओटा प्वाल पारेर रगत मात्र चुसेको अवस्था कोहि खोर भित्रै र कोहि खोर नजिकै फालिएको अवस्थामा भेट्टिएका छन् । यही राति सूर्यपुरका राजु ओलीको एउटा बाख्रा मारिएको छ ।

 साउन १९ गते राति ब्लक–सी का जयस साउँदका चारवटा बाख्रा मारिएका छन् । खोरमा भएका चारै बाख्रा मारिएका र मारिएका मध्ये २ ओटा आधाआधा खाएको अवस्थामा र अरु २ ओटा अलि खाएको अवस्थामा खोर नजिकै भेट्टिएका साउँदले बताए । केही दिन अघि ब्लक–१७ का भक्तबहादुर खत्रीको बाख्रा पनि मारिएको थियो । 

बाख्राहरु मारिएका ब्लक बी, सी, १७, १८ सबै शहरी क्षेत्र हो बाक्लो बस्तीमा राति आएर खोर नै रित्याउने गरी दैनिक बाख्रा मार्न थालेपछि मानिसमा त्रास सृजना भएको व्लक–१८ का भैरवसिंह रावलले बताए । ‘घटना प्रकृति हेर्दा चितुवा नै हो भन्ने लागेको छ तर कसैले देखेको छैन भने भनेर ढिला गर्नु हुदैन इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले भने, ‘ थप वा मानवीय क्षति हुनु अगावै नियन्त्रणमा लिनुपर्छ ।’ टीकापुर नगरपालिकाले एक्लै बाहिर नजान र राति निगरानी गर्न नगरवासीलाई अपिल गरेको छ ।गोरखापत्रबाट

clock बिहिबार २४, साउन २०८१ ०६:३९

प्रतिक्रिया